लमजुङ समाचारदाता
लमजुङ, वैशाख २१ गते । लमजुङको दुर्गममा रहेको दुधपोखरी गाउँपालिकाका युवालाई नेपाल रेडक्रस सोसाइटी लमजुङले स्वरोजगार बनाउने भएको छ । युवालाई गाउँमै बसेर स्वरोजगारमूलक कार्य गर्नका लागि रेडक्रसले सहयोग पुँजी दिएको हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा लमजुङले दुधपोखरी गाउँपालिका अन्तर्गतका १०१ युवालाई व्यावसायिक उद्यमशीलताका लागि नगद सहयोग गरेको हो । जिल्लामा सञ्चालित डुफ परियोजना अन्तर्गत रेडक्रसले स्वरोजगारको सम्भावना बोकेका १०१ जना युवालाई जनही ३० हजार रुपियाँका दरले ३० लाख ३० हजार उपलब्ध गराएको छ ।
रेडक्रस जिल्ला शाखाका अध्यक्ष ऋषिराम घिमिरेले दुधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङलाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको छ । गाउँपालिका अध्यक्ष गुरुङले रेडक्रसको यस सहयोगले पालिकाका युवाको भविष्य निर्माणका लागि प्रेरणादायक बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा स्वरोजगार नहुँदा युवा बिदेसिने लहर छ । त्यस्तो समयमा उत्पादनमूलक काममा दिइएको सहयोगले ठुलो भरोसा दिन्छ । सहयोग पाएपछि युवाले गाउँमै कृषि र पशुपालन जस्ता काम गरेर स्वरोजगार बन्ने अपेक्षा लिएको छु ।”
डुफ परियोजनाले वडा नं. १, २, ३ र ५ का १८ देखि ३० वर्ष उमेर समूहका युवालाई लक्षित गर्दै स्वरोजगारको बाटो खुलाउने उद्देश्य लिएको छ । व्यावसायिक सोच बोकेका तर स्रोत र पहुँच अभावमा थलिएका युवाको क्षमता उजागर गर्न रकम वितरण गरिएको रेडक्रसका कार्यक्रम संयोजक गणेश गौलीले जानकारी दिनुभयो । परियोजना अन्तर्गत यसअघि रेडक्रसले दुधपोखरीका बाख्रापालक कृषकलाई व्यावसायिक तालिमसमेत दिएको थियो ।
रेडक्रसको यो कार्यक्रमले दुधपोखरी गाउँपालिकाको जीविकोपार्जन सुधारमा प्रत्यक्ष टेवा पुग्ने अपेक्षा गरिएको छ । गाउँपालिकाले पनि स्वरोजगारलाई प्राथमिकता दिँदै आएको अवस्थामा रेडक्रससँगको सहकार्यले थप गति दिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभयो । स्थानीय युवामा आशा र आत्मविश्वास थप्ने यो अभियानले दीर्घकालीन रूपमा गाउँमै रोजगारी सिर्जना गर्ने सम्भावना बोकेको रेडक्रसका उपमन्त्री दीपकराज न्यौपानेले बताउनुभयो ।