बुटवल समाचारदाता
बुटवल, वैशाख २१ गते । रूपन्देहीको कञ्चन गाउँपालिकाले आर्थिक वर्षको अन्तिम असारमा विकास निर्माणको काम गर्ने असारे विकासको प्रवृत्ति अन्त्य गर्न यो वर्ष वैशाख २५ भित्रै योजना सम्झौता गरिसक्ने निर्णय गरेको छ । १२ महिनामध्ये ११ महिना त्यत्तिकै बस्ने र आवको अन्तिमको एक महिना असारमा मात्रै विकास निर्माणका काम गर्ने प्रवृत्ति बढ्दै गएको बताउँदै उहाँले एक महिनामा हतार हतारमा काम गर्दा गुणस्तरीय हुँदैन र त्यसले बदनामी मात्र हुने गरेको बताउनुभयो ।
कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले पालिकाले विगत एक वर्षदेखि यो अभियान चलाएको बताउँदै यस अभियानबाट गुणस्तरीय विकासको काम हुने र असारे विकास प्रवृत्ति अन्त्य गर्न सहयोग पुग्ने बताउनुभयो । पालिकाले असारे विकासको प्रवृत्ति रोक्ने र उपभोक्ता समितिलाई जिम्मेवार र लगनशील बनाउन वैशाख २५ गतेभित्र योजना सम्झौता गरिसक्ने र जेठको मसान्तभित्र निर्माणको काम सम्पन्न गरी बजेट निकासा गर्ने निर्णय गरेको छ ।
कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद पोखरेलले समयमै योजना पूरा नहुने र लम्ब्याउने प्रवृत्ति निरुत्साहित गर्ने उद्देश्यले समयमै योजना सम्झौता र काम सम्पन्न गर्ने निर्णय भएको बताउनुभयो । कञ्चन गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचनले कञ्चनले निर्धारित समयमै योजना सम्झौता गर्ने र असारअघि नै विकास निर्माणको काम सक्ने गरी सुरु गरेको अभियान प्रभावकारी देखिएको बताउनुभयो । कञ्चन–१ का वडाध्यक्ष हरिनारायण चौधरीले यो अभियानले समयमै गुणस्तरीय काम गर्न सहयोग पुगेको बताउनुभयो ।