बुटवल समाचारदाता
बुटवल, वैशाख २१ गते । बुटवल क्षेत्रको विकासमा पर्यटकीय सम्भावनाको खोजी गर्न थालिएको छ । प्राकृतिक सौन्दर्य, ऐतिहासिकता एवं धार्मिक सम्पदा, सांस्कृतिक विविधता र विकसित भौतिक पूर्वाधारका दृष्टिले बुटवल पर्यटनको सम्भावना भएको सहर रहेको ठहर गर्दै विस्तृत योजना बनाउनुपर्नेमा जोड दिइएको छ ।
यहाँ आयोजना गरिएको पर्यटन गोष्ठीका सहभागीले बुटवलको विकासमा पर्यटकीय सम्भावनाको पहिचान गर्नुपर्नेमा जोड दिएका छन् । समुचित योजना, प्रचारप्रसार, संरक्षण तथा दीर्घकालीन पूर्वाधार विकासको अभाव खड्किएको भन्दै सहभागीले यसका लागि भावी रणनीति निर्माण गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले एक करोड वर्ष पुरानो रामापिथेकसको इतिहास, सेन वंशको कुलको स्थान रहेको फूलबारी, अङ्ग्रेजलाई जितेको जितगढी यस क्षेत्रकै गहना रहेको बताउनुभयो । उहाँले बुटवलका ४६ वटा पुराना घरलाई एउटै ढङ्गमा पुनर्निर्माणको योजना बनेको, बुटवलदेखि नुवाकोटसम्म पैदलमार्गको कार्य अगाडि बढेको, नुवाकोटमा ठुलो शिवमूर्ति, हिलपार्कमा बुद्ध मूर्ति, बुटवल–१८ मा थारू सङ्ग्रहालयका लागि प्रयत्न गरिएको बताउनुभयो ।
उहाँले बुटवलदेखि मुक्तिनाथ र लुम्बिनीदेखि कोरला नाकासम्म धार्मिक पर्यटनको सम्भावना रहेको भन्दै यसतर्फ तिनै तहका सरकारबिच समन्वय आवश्यक रहेको बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले भारतबाट आउने पर्यटकलाई मुक्तिनाथसम्म कसरी पुर्याउने भन्ने मुख्य लक्ष्य रहेको भन्दै लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट भालुवाङ सरेपछि नै बुटवललाई पर्यटनको केन्द्र बनाउने गरेर काम गरिएको बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका पूर्वउपप्रमुख विमलबहादुर शाक्यले पर्यटक ल्याउनका लागि पर्यटकीय गन्तव्य बनाउन पहिला योजना हुन जरुरी रहेको बताउनुभयो ।
बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले पर्यटकीय विश्रामस्थलका रूपमा विकास गर्दै आएको बुटवललाई पर्यटक आगमन स्थलका रूपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले मौलिक खानेकुराको बजारीकरण गर्नुपर्ने र होमस्टेको विकास गर्न सक्नुपर्ने र तिनाउ जलाधार क्षेत्रको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।