• २० वैशाख २०८२, शनिबार

महिलाले सञ्चालन गरेको ढाका उद्योग सङ्कटमा

blog

कालिका महिला उद्यमी समूहले सञ्चालन गरेको ढाका उद्योग । तस्बिर : ज्योति पन्थी

ज्योति पन्थी
बबई (बर्दिया), वैशाख २० गते ।
पाल्पामा उत्पादन भएको ढाकाले नेपाल मात्र नभई विश्व बजारमा पहिचान बनाउन सफल भएको छ भने बर्दियामा महिलाहरुले सञ्चालन गरेको ढाका उद्योग सङ्कटमा परेको छ ।

पाल्पा पछि पश्चिम नेपालको बर्दिया जिल्ला बढैयाताल गाउँपालिका ८ स्थित कालिका महिला उद्यमी समूहले चार बर्ष अघिदेखि सञ्चालनमा ल्याएको ढाका उद्योग आर्थिक अभाव बढ्दै जादा बन्द हुने अवस्थामा पुगेको हो ।

सञ्चालनका समयमा ढाकाको कुर्ता सुरवाल, सर्ट, पछ्यौरा, चोलोलगायतका सामग्री उत्पादन हुने उद्योगमा आर्थिक सङ्कट पर्दै जान थालेपछि हाल आएर साडी मात्र उत्पादन गर्ने गरिएको छ । साथै सञ्चालनको समयमा १३ जनालाई रोजगारी दिएको उद्योगले अहिले कटौती गरेर पाँच जनालाई रोजगारी दिएको छ ।

बर्दियाबाट उत्पादन भएको ढाकाका सामग्री बर्दिया, बाँकेलगायत काठमाडौँसम्म बिक्री हुने गरेको थियो, तर आर्थिक अभावले सामग्री उत्पादन घट्दै जान थालेपछि बजार क्षेत्र समेत खुम्चिँदै गएको छ । कालिका महिला उद्यमी समूहमा आवद्ध महिलाहरु बढैयाताल गाउँपालिकासँग सहयोग माग्दा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले उद्योगका बारेमा आफुहरुले गीत गाएर प्रचारप्रसार गरेको तर आर्थिक सहयोग  गर्न नसकिने जवाफ दिएको र गत वर्ष गाउँपालिकाले उद्योगका लागि गाउँसभाबाट बिनियोजन गरेको बजेट समेत नदिएको समूहका अध्यक्ष निलम गौतमले बताउनुभयो । 

महिलाहरु मिलेर पश्चिम नेपालमानै ढाका उत्पादन गर्न सके राम्रो बजार पाउने आसयले उद्योग स्थापान गरिएको भए पनि स्थानीय तहबाट कुनै सहयोगक नभएपछि उत्पादन घटाउँदै लगिएको समूहका सचिव बविता पुन मगरले बताउनुभयो । बढैयाताल गाउँपालिकाको वडा नं. ८ मा पर्ने ढाका उद्योगलाई ८ नं. वडा कार्यालयले यस आर्थिकवर्षमा एक लाख सहयोग गर्ने निर्णय गरेको भए पनि हालसम्म भुक्तानी हुन नसकेको वडा अध्यक्ष तेजनाथ पौडेलले जानकारी दिनुभयो । बर्दियामा सञ्चालन गरिएको ढाका सामग्री उत्पादन गर्ने उद्योगलाई संवर्धन र प्रवर्धन गर्न सक्ने हो भने यसले रोजगारी र आमदानी सँगसँगै लैजान सक्ने देखिन्छ ।