• २० वैशाख २०८२, शनिबार

प्रतिपक्षको भूमिका निर्वाह गरेका छौं : महासचिव गुरुङ

blog

प्रेस सेन्टर नेपाल बागलुङले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ । तस्बिर : प्रदिप पन्त

प्रदिप पन्त

बागलुङ, वैशाख १९ गते । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले वर्तमान सरकारको प्रतिपक्षको भूमिका आफ्नो पार्टीले निर्वाह गरेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल बागलुङले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले अहिलेको समयमा सरकारको कामका आधारमा सचेत,जागरुक र खबरदारी गराएको बताउनुभएको छ । 

“हाम्रो पार्टी प्रतिपक्षमा छ", गुरुङले भन्नुभयो, "सदन, सडकबाट सरकारलाई सजक,सचेत र खबरदारी गरिरहेका छौं ।” उहाँले डेमोक्रेसी, राष्ट्रियताको रक्षा र सुशासन कायम राख्नपर्ने अभियानमा आफुहरू रहेको बताउनुभएको छ । वृहत शान्ति सम्झौता र गणतन्त्रका पक्षधरमा रहेको घटकहरू विखण्डित भएको अवस्थामा राजतन्त्रवादीहरू सलबलाएको बताउनुभएको छ ।

“गणतन्त्रवादी पक्षधरहरू विखण्डित भए", उहाँले भन्नुभयो, "त्यसको परिणाम पूर्व दरबारीया शक्तिहरू क्रियाशील भए ।” अब भने दरबारीयाले टाउको उठाउने अवस्था नरहेको बताउनुभयो । वर्तमान सरकारमा रहेको पार्टीहरू बिच नै असन्तुष्टि देखिँदै गएको बताउनुभयो ।

“सरकार टिक्ने र चल्ने अवस्था त्यहीँबाट देखिन्छ",गुरुङले भन्नुभयो, "विकल्प हामीहरूले खोजेका छैनौँ ।” सरकारले सहमति सहकार्य गर्न नखोजेको कारण आफ्नै समस्यामा पर्दै गएको बताउनुभएको छ । 

सरकारमा रहेको कांग्रेस र एमालेले भने अनुसार संविधान संशोधन हुने हो भने २०४७ सालको संविधानको सेरोफेरोमा पुग्ने अवस्था देखिएको बताउनुभयो । उहाँले सबैको सहकार्य सहमति र छलफलबाट मात्र एउटा निष्कर्ष निस्कने विश्वास व्यक्त गर्नुभयाे ।