पशुपतिनगर समाचारदाता
पशुपतिनगर (इलाम), वैशाख १९ गते । इलामको सूर्योदय नगरपालिकाका प्रत्येक वडामा एक/एक वटा ‘अल वेदर’ (बाह्रमासे) सडक निर्माण गरिएको छ । वडा र नगरपालिकाको केन्द्रसम्म सहज सडक सञ्जालको पहुँचका लागि निर्माण गरिएका बाह्रमासे सडक यतिबेला कालोपत्रेको चरणमा पुगेका छन् । गाउँका सडक धमाधम कालोपत्रे हुन थालेपछि यहाँका स्थानीय उत्साहित बन्न थालेका छन् ।
सूर्योदय नगरपालिकामा १३.५ किलोमिटर कालोपत्रे, ८३.८ किलोमिटर ग्राभेल र ६६८.९३ किलोमिटर गरी जम्मा ३३३ वटा स्थानीय सडक छन् । नगरले यी सडकलाई ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार किसिमले वर्गीकरण गरेको नगरका इन्जिनियर कविन सापकोटाले जानकारी दिनुभयो । इन्जिनियर सापकोटाका अनुसार नगरभित्र स्ट्राटेजिक रोड नेटवर्क (एसआरएन) अन्तर्गतका ठुला तीन वटा सडक छन् । यस अनुसार मेची राजमार्ग, फिक्कल–पशुपतिनगर–छिपीटार–अन्तु सडकको कालोपत्रे ४८.२० किलोमिटर, ग्राभेल २.४५ किलोमिटर र कच्ची (धुले बाटो) २.४१ किलोमिटर पर्छ ।
सूर्योदय डिस्ट्रिक्ट रोड केयर (डिआरसिएन) अन्तर्गत १०.८३ किलोमिटर कालोपत्रे, १६.१२ किलोमिटर ग्राभेल र ३६.५६ किलोमिटर कच्ची (धुले बाटो) रहेका छन् । नगरपालिकाले आफ्नो नगरभित्रका सडकलाई बाहै्र महिना सवारीसाधन सञ्चालन गर्ने गरी योजना अनुसार केही वर्ष पहिल्यै नगरस्तरीय सडक सञ्जाल गुरुयोजना बनाएको थियो । गुरुयोजना अनुसार २८ वर्षभित्र नगरभित्रका सबै सडक निर्माण भइसक्ने उल्लेख छ । हालसम्म १३.५ किलोमिटर कालोपत्रे, ८३.०८ किलोमिटर ग्राभेल र ६६८.९३ किलोमिटर कच्ची बाटोको स्तरोन्नति भइरहेको छ ।
सडक निर्माणको व्यवस्थित योजना बनाएर निर्माण गर्दा नागरिकको जीवनस्तरमा सुधार ल्याउन सकिने गरी सडक सञ्जालको गुरुयोजना निर्माण गरिएको नगरप्रमुख रणबहादुर राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परम्परागत शैलीले सडक निर्माण गर्ने हो भने नगरका सडक ग्राभेल मात्रै गर्न पनि २८ वर्ष लाग्छ । हामीले नयाँ ढङ्गले काम गर्दा नागरिकलाई सहज भएको छ ।”
स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले ‘एक वडा एक ग्राभेल सडक’ निर्माणलाई प्राथमिकता दिएपछि सूर्योदयका १४ वटै वडाका एक÷एक वटा सडक ग्राभेल गर्ने काम हुँदै हाल कालोपत्रेको चरणमा आएको नगरपालिकाका सिभिल इन्जिनियर सापकोटाले बताउनुभयो ।
नगरभित्रका सडक २७ वर्षभित्र ग्राभेल गर्न हरेक पाँच वर्षमा ५९ करोड रुपियाँ नगरपालिकाले खर्च गर्नुपर्ने हुन्छ । यो रकम सडकको सर्भे, वातावरण संरक्षण, सडक चौडा र सडकस्तर उन्नतिमा लाग्ने खर्च हो । पाँच वर्षमा ५९ करोडको पाँच प्रतिशत वातावरण संरक्षण, पाँच प्रतिशत सर्भे डिजाइन, १५ प्रतिशत सडक चौडा र ७५ प्रतिशत सडक ग्राभेलमा खर्च हुने गुरुयोजनामा उल्लेख छ । अहिलेको दररेट अनुसार नगर क्षेत्रका सडक ग्राभेलका लागि तीन अर्ब २० करोड २७ वर्षभित्र खर्च गर्नुपर्ने छ ।
गाउँका सडक कालोपत्रे हुन थालेपछि यहाँको कृषि उपज बजारसम्म लैजान सहज भएको छ । सूर्योदय–१४ का देवीप्रसाद आचार्यले उत्पादित वस्तु बजारीकरणमा सडक सञ्जालले सहज भएको बताउनुभयो । सूर्योदय–१ का सन्तोष बजगाईं गाउँमा उत्पादित कृषिउपज सङ्कलन गरेर भारतीय सीमा क्षेत्र मानेभन्ज्याङ बजारमा बिक्री गर्न लैजानुहुन्छ । पैदल यात्रा गर्न करिब तीन घण्टा लाग्नेमा सडक बनेपछि अहिले उहाँलाई बजार पुग्न सहज भएको छ । बाटो अप्ठ्यारो हुँदा घोडामा तीन÷चार घण्टासम्म लाग्थ्यो । अहिले बाटो सजिलो भएको छ । विगतमा भन्दा ग्रामीण क्षेत्रका किसानलाई बजार पुग्न, विद्यार्थीलाई विद्यालय आवतजावत गर्न र बिरामीलाई तत्काल अस्पताल पुग्न सजिलो भएको स्थानीयको भनाइ छ । किसानले दुःख गरेर उत्पादन गरेका उपजले सडक अभावकै कारण बजार नपाउने समस्या अन्त्य भएको किसान बताउँछन् ।
बाटो बनाउन मेसिन प्रयोग गरेर काम देखाउने र जनताको आँखामा भ्रम छर्ने परम्परागत तरिका हटाएर दिगो विकासको मोडेलमा पालिका अगाडि बढेको उपप्रमुख दुर्गाकुमार बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “माटो र बाटो मात्र विकास हो भन्ने परम्परागत सोच परिवर्तनका लागि आर्थिक, सामाजिक, वातावरण र सुशासन क्षेत्रको विकासका लागि समान रूपमा योजना तथा कार्यव्रmम अगाडि बढाएका छौँ ।”
सूर्योदयका किसानले चियापछि धेरै दुग्ध उत्पादन गर्छन् । चियालाई स्थानीय उद्योगमा पु-याउन, दुध डेरीमा लैजान र आलु, अलैँची, अदुवा, इस्कुस, साग, टमाटर जस्ता कृषि उत्पादन बजार पु-याएर बिक्री गर्न बाह्रमासे सडकले ठुलो राहत गरेको किसान बताउँछन् । भारतसँग जोडिएको मानेभन्ज्याङ, पशुपतिनगर र फाटकसहित स्थानीय, फिक्कल, हर्कटे, आइतबारे, गोर्खेलगायत बजार यहाँका किसानको मुख्य व्यापार स्थल हो । मानेभन्ज्याङ, पशुपतिनगर, फाटक, गोर्खेबाहेकका सबै जसो बजार मेची राजमार्गले छोएका छन् ।
सडक गुरुयोजना अनुसार सूर्योदय नगरपालिकाभित्रका सडकमा सबैभन्दा बढी दुईपाङ्ग्रे मोटरसाइकल प्रयोग हुँदै आएका छन् । नगरस्तरीय सडकमा ४५ प्रतिशत मोटरसाइकल प्रयोग हुन्छन् । त्यस्तै जिप, कार २६ प्रतिशत, ट्याक्टर १७ प्रतिशत र ट्रक बस १२ प्रतिशत नगरपालिकाभित्र गुड्ने गरेका छन् ।