टोपलाल अर्याल
रेसुङ्गा, वैशाख १८ गते । तिन दिनदेखि तम्घासका चोकहरूमा “यो सम्झिने मन छ, आँखा छोपी नरोउ भनि भन्नु पर्या छ, यतिचोखो यतिमिठो” स्वर सम्राट नारायण गोपालका गीतहरू गुञ्जिरहेका छन् । प्रेमध्वज प्रधानको “पर लैजाउ फुलहरू छोपिदेउ तारा जुन” लगायतका दर्जनौ गीतहरू दृष्टिविहीन युबिसी अर्थात ४२ वर्षीय उद्धव विश्वकर्माले दुरुस्त गाउनुहुन्छ । तर कसैले सुन्दैनन्, कसैले देख्दैनन् ।
अहिले गुल्मी महोत्सव चलिरहेकाले खचाखच दर्शक छन् । दुर्गेश थापा हेलिकोप्टरमा गीत गाउन महोत्सवमा आए । यता सडकमा विश्वकर्माका दर्शक छैनन् । सुगम सङ्गीतका गीतहरू गाउने विश्वकर्माले नारायण गोपाल, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, गोपाल योञ्जन, रामकृष्ण ढकाल र दिपक लिम्बूसहित दर्जनौ सर्जकका गीतहरू गाउनुहुन्छ । उहाँले भन्नुभयो, “दर्शक ठुला कलाकारको दौडमा छन् । म राम्रो गाउँदा पनि ठुलो बन्न सकिन् ।” जन्मजात पूर्ण दृष्टिविहीन विश्वकर्माको घर बटेश्वर गाउँपालिका–२ धनुषा हो ।
आफुले नेपाल नेत्रहिन सङ्घ सुकेधारा काठमाडौँबाट पूर्ण छात्रवृतिमा पाँच वर्ष सङ्गीत सिकेर स्वर परीक्षा पास गरेको विश्वकर्मा बताउनुहुन्छ । उहाँले सात वर्षदेखि सडक–सडकहरूमा गीतहरू गाउँदै आउनुभएको छ । सडक सङ्गीतकै क्रममा देशका ४५ बढि जिल्लामा सहरहरूमा गीत गाउन पुगेको विश्वकर्माको दाबी छ । उहाँले चित्र कार्कीको सङ्घर्ष र बोनी राईको सौगात एल्बममा स्वर दिनुभएको छ । त्यो बेला क्यासेटको जमना थियो । सोँचे अनुसारको बजार नपाएपछि अर्को गीत गाउने अवसर आएन ।
तत्कालिन समयमा ट्रयाक्क समेत नहुने भएकाले आफ्नै गीत गाउँदै हिँड्न नपाउँदा निकै पछुतो लागेको विश्वकर्मा बताउनुहुन्छ । उहाँले सहयोगी दाताहरू भेटिए त्यो गीतको पुनः रेकर्ड गर्ने चाहाना जिवित राखेको बताउनुभयो । उहाँले लगभग ६० गीतको स्वर र सङ्गीत कण्ठस्त पार्नु भएको छ । बिहान ९ बजे सडकमा निस्केपछि खाना खाने समय बाहेक साँझ अबेरसम्म गीत गाउनुहुन्छ । सबै गीतका शब्द सङ्गीतमा दुरुस्त बग्नु सानो कुरा नभएको विश्वकर्मा बताउनुहुन्छ । दृष्टिविहीनलाई गीत गाउँदै हिडन् सहज छैन । सबैकाे हेर्ने दृष्टिकोण एकैनासको छैन ।
उहाँले सम्मान र हेला दुवै भोग्दै–भोग्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै ठाउँमा सम्मानले तानातान पनि हुन्छ । कतै माग्नेको रूपमा हेर्ने र बास नदिएर फर्किएका कैयन दुःखहरू पनि छन् ।” सर्लाही छोडेपछि गाउँमा बास पाउन मुस्किल परेको विश्वकर्माले बताउनुभयो । पछिल्लो समय दृष्टिविहीन कलाकारहरू धेरै समुह बनेर हिड्न थालेपछि मोह हराउँदै गएको विश्कर्माले बताउनुभयो । “वनै खायो डढेलोले” गीत गाउँदा प्रभावित भएर एकै जनाले पाँच हजार रुपियाँसम्म दिएको विश्वकर्मा बताउनुहुन्छ ।
उहाँका अनुसार धेरै ठाउँमा भक्तराज र नारायण गोपालकै गीतहरू खोज्ने गर्छन् । उद्धवले आधुनिक गजल गीत गाउने मात्रै नभएर तवला, बाँसुरी, किबोर्ड, हार्माेनियम, मादल, गितार, कङो लगायत दर्जनौ वाद्यवादनका साधन बजाउनुहुन्छ ।
उद्धव जन्मजात दृष्टिविहीन हुनुहुन्छ । आमाले आफ्नो उपचारमा शरीरका गहनापात सकेपछि सम्भव नभएपछि दृष्टिबिहिननै भएर बाँच्न परेको विश्वकर्मा सुनाउनुहुन्छ । उहाँहरू दुई भाइ हो । परिवारका सात जनामा दिदी, दाइ र भाइको विभिन्न कारणले मृत्यु भएको थियो । सानैमा बितेकाले बुवा मखन विश्वकर्मा पनि उद्धवको सम्झनामा हुनुहुन्न । आमा ७५ वर्षीया मिठी विश्वकर्मा अझै घरमा हुनुहुन्छ ।
जीवन कमाउने र ज्यान पाल्नेमै सिमित भएको उद्धव बताउनुहुन्छ । घरमै बसेर अरूले दिएको खान नपरे पनि कैयन सपना मरेर गएको विश्वकर्मा बताउनुहुन्छ । आफुले काठमाडौँमै संस्था खोलेर अनाथ बालबालिकालाई पढाउने सपना देखे पनि विभिन्न परिस्थीतिले नसकिएको बताउनुभयो ।
गायनमा सानैबाट लगाब भए पनि विस्तारै बाध्यताले गीत सङ्गीतमा धकेल्दै गएको विश्वकर्मा बताउनुहुन्छ । अहिलेका गीत सुन्न लायक नभएको उहाँको तर्क छ । क्षणिक रमाउने दर्शक र भाइरल मोहका कलाकारले गीत सङ्गीतमा न्याय गर्न नसक्ने उद्धव बताउनुहुन्छ ।