चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख १८ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालको पालिका कमिटी अध्यक्षमा दिनेश पौडेल चयन हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) निकट वाइसिएल नेपालको तेस्रो अधिवेशनले पौडेल अध्यक्ष रहेको ५१ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन गरेको हो ।
पालिका कमिटी उपाध्यक्षमा ज्ञानेन्द्र इधिङ्गो, सन्दिप लिङ्देन, सचिवमा इन्द्र इधिङ्गो, सहसचिव तुलसी लिङ्देन, पुजन सुनुवार र आयुषा मिश्र तथा कोषाध्यक्षमा सन्दिप बानियाँ चयन हुनुभएको छ । सिदिङ्वा गाउँपालिकाको प्रशासकीय केन्द्र साब्लाखु भन्ज्याङमा भएको वाइसिएलको पालिका अधिवेशन माओवादी केन्द्रका जिल्ला संयोजक विष्णुकुमार लिम्बू, वाइसिएलका जिल्ला अध्यक्ष कैलास माबोको उपस्थितिमा सम्पन्न भएको हो ।
यस्तै, कार्यक्रममा माओवादी केन्द्रकी प्रदेश कमिटी सदस्य एवम् सिदिङ्वा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना), माओवादी केन्द्रका पालिका कमिटी अध्यक्ष अमर इधिङ्गोलगायत पार्टी तथा जनवर्गीय सङ्गठनका विभिन्न तहका नेतृत्वहरूको उपस्थिति रहेको थियो । यही वैशाख २३ गते जिल्ला अधिवेशन गर्ने तयारीस्वरूप वडा तथा पालिकास्तरीय अधिवेशन सम्पन्न गर्ने क्रमलाई तीव्रता दिँदै आएको वाइसिएलका जिल्ला अध्यक्ष माबोले जानकारी दिनुभयो ।