काठमाडौँ, वैशाख १८ गते । विभागीय टोलीनेपाल पुलिस क्लब विराटनगरमा जारी एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।
बिहिबार भएको समूह चरणको अन्तिम खेलमा पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई पाँच विकेटले हरायो । फाइनलमा पुलिसले शनिबार त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पुलिस समूह ‘बी’ को विजेता बनेको हो ।
जितका लागि आसामले दिएको एक सय ५५ रनको लक्ष्य पछ्याएको पुलिसले २६.१ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । पुलिसका लागि अमित श्रेष्ठ र कप्तान शंकर रानाले अविजित रहँदै अर्धसतकीय योगदान दिनुभयो । अमितले ७१ र शंकरले ६३ रन बनाउनुभयो ।
बलिङमा आसामका गोकुल शर्माले सर्वाधिक तीन विकेट लिनुभयो। चिरन्तन खात्तिनियरले एक विकेट लिनुभयो । यसअघि टस जितेर ब्याटिङ रोजेको आसामले ४२.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५४ रन बनाएको थियो ।
आसामको लागि ओपनर राज विश्वले सर्वाधिक ३३ रन बनाउनुभयो । अरुण सोनारले ३१, केभिन संजीवले २३ र हियम कश्यपले १९ रन बनाउनुभयो ।
बलिङमा पुलिसका अरुण ऐरी र श्रवन यादवले तीन तीन विकेट लिनुभयो । बिपिन खत्री, सुनिल दौल्याल, चित्र बिस्ट र दिपक डुम्रेले एक एक विकेट लिनुभयो ।
प्रतियोगिताको विजेता टोलीले चार लाख र उपविजेताले दुई लाख रुपियाँ पुरस्कार पाउने छ । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विधागत उत्कृष्टलाई जनही १५ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।