टोपलाल अर्याल
रेसुङ्गा, वैशाख १८ गते । गुल्मीमा रेविज रोगको जोखिम बढ्दै गएपछि कुकुरहरूको स्थायी बन्ध्याकरण थालिएको छ । जिल्लाका चार स्थानीय तहका ४०९ छाडा तथा सामुदायिक भाले एवंम पोथी कुकुरको स्थायी बन्ध्याकरण गरिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रेसुङ्गा नगरपालिका, छत्रकोट गाउँपालिका, धुर्कोट गाउँपालिका र मदाने गाउँपालिकाको समन्वयमा कुकुरको स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिएको थियो ।
वैशाख १० देखि १७ गतेसम्म सञ्चालन भएको शिविरमा छत्रकोटका १०८, रेसुङ्गाका १०७, धुर्कोटका ९४ र मदानेका १०० गरेर ४०९ वटा कुकुरको बन्ध्याकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको डाक्टर नविना ढकालले जानकारी दिनुभयो ।
यो शिविरमा हिमालय एनिमल रेस्क्यिु ट्रस्ट पोखराले विशेषज्ञ सेवा प्रदान गरेको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत आर्थिक बर्ष २०८०–८१ मा २५० र २०७९–८० मा २०० कुकुरको स्थायी बन्ध्याकरण गरिएको डाक्टर ढकालले बताउनुभयो ।
बन्ध्याकरण गरिएका सवै कुकुरलाई रेबिजविरुद्धको खोप पनि लगाएर छाडिएको हो । गुल्मी अस्पताल तम्घासका सूचना अधिकारी रमेश पन्थीका अनुसार गुल्मीमा यो आर्थिक बर्षको नौ महिनामा ३५७ महिला र ४६१ पुरुषलाई कुकुरले टोकेको छ । अस्पतालको तथ्याङ्कअनुसार सबैभन्दा बढी असोज, कार्तिक र माघमा कुकुरले धेरै मान्छेलाई टोक्ने गरेको देखिएको छ ।
तीन महिना क्रमश ः १११, १०४ र १०५ जनालाई कुकुरले टोकेको छ । आर्थिक वर्ष २०८०–८१ मा ३६० महिला र ५२० पुरुष गरेर ८८० जनालाई कुकुरले टोकेको सूचना अधिकारी पन्थीले बताउनुभयो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेयले सबैभन्दा पहिले नागरिक आफै सचेत बन्नुपर्ने बताउनुभयो । उहाँले आफ्ना कुकुरको निगरानी गर्ने, खोप लगाउने, छाडा नबनाउने, भुस्याहा कुकुरबाट जोगिने तथा कुकुरले टोकेमा रेबिज विरुद्ध तत्काल खोप लगाउन सुझाव दिनुभयो ।
पाण्डेयले केन्द्रको तर्फबाट पालिकामा कुकुरको बन्ध्याकरण, रेबिज परीक्षण तथा सचेतना अभियान सञ्चालन गरिएको बताउनुभयो । कुकुरको सङ्ख्या र आक्रमण बृद्धि हुँदै जाने र रेबिज सङ्क्रमण पनि देखिन थालेपछि स्थानीय सरकारलाई चुनौती थपिएको छ । रेसुङ्गा नगरपालिकासँगै गुल्मीदरबार, छत्रकोट, रुरुक्षेत्र र चन्द्रकोट गाउँपालिकामा कुकुरले बढि दुःख दिने गरेको छ ।
गुल्मीमा कुकुरले टोकेर रेबिज लागेकी गुल्मीदरबार गाउँपालिका –६ की ४० वर्षीया रजुन शाहको २०७९ साल पुसमा मृत्यु भएको थियो । रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले आफुहरू तीन–चार वर्षदेखि कुकुर आतङ्कले पीडित भएको बताउनुभयो ।
मान्छेदेखि पशुचौपायासम्मलाई टोकेर हैरान गरेकाले बेलाबेलामा बन्ध्याकरण गर्ने गरेको बताउँदै समस्याको स्थायी समाधान भने नभएको ज्ञवालीले बताउनुभयो ।