अमरराज नहर्की
तनहुँ, वैशाख १८ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका र यस आसपास क्षेत्रमा रहेका मिर्गौलाका बिरामीलाई डायलासिसका लागि टाढा धाउनु पर्ने तथा पालो कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिहीबारबाट डायलासिस सञ्चालन गरिएकोले बाध्यताको अन्त्य भएको हो ।
केन्द्रमा निर्माण गरिएको डायलसिस सेन्टरको आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गर्नुभयो । भौतिक पूर्वाधार शुक्लागण्डकी नगरपालिका, लायन्स क्लबको सहयोगमा डायलाइसिस उपकरण र जनशक्ति जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले व्यवस्थापन गरी सञ्चालन गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
डा. श्रेष्ठका अनुसार केन्द्रमा सात वटा डायलासिस मेसिन जडान गरिएको छ । सेवा लिनको लागि ३० जनालाले नाम दर्ता गरेको उहाँले जानकारी दिनुभयो । डायलायसिस सेन्टर निर्माणमा शुक्लागण्डकी नगरपालिका लगायत अस्पताल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सहयोग गरेको छ ।
जीपी अस्तालमा यस क्षेत्रमा सक्रिय विभिन्न सामाजिक संघ संस्थाहरु लायन्स क्लव अफ खैरेनीटार, म्याग्दे र लायन्सक्लव अफ शुक्लागण्डकी सिस्टर्सको विशेष सहयोग रहेको छ । डायलासिस सेन्टर स्थापना भएपछि शुक्लागण्डकी सहित भिमाद, म्याग्दे, ऋषिङ, घिरिङ र स्याङजाको हरिनासका विरामीले लाभ लिन सक्ने लायन्स डायलसिस सेन्टर प्रोजेक्टका संयोजक सुजित हिराचनले जानकारी दिनुभयो ।
लायन्स क्लब अन्तर्राष्ट्रिय गुठी (एलसिआइएफ)ले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्ने क्रममा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि सहयोग गरेको केन्द्रले जनाएको छ । उक्त केन्द्रमा डायलासिस सेन्टर सञ्चालन गर्न लायन्स क्लब अफ तनहुँ खैरेनीटार, लायन्स क्लब अफ तनहुँ म्याग्दे र लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले पहल थालेका थिए ।
जिल्लामा दमौली अस्पताल र आँबुखैरेनी अस्पतालमा मात्रै डायलासिस सेन्टर रहेको र मिर्गौला खराब भएका बिरामीलाई सास्ती भइरहेकाले क्लबले सो अस्पतालमा डायलासिस सेन्टर स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो । यहाँका बिरामीलाई दमौली, पोखरा जानुपर्ने बाध्यता हटाउन क्लबले डायलासिस सेन्टर स्थापना गर्न डायलासिस मेसिन सहयोग गर्ने निर्णय भएको लायन्स क्लबका डिष्ट्रिक क्याबिनेट सचिव सुजित हीराचनले जानकारी दिनुभयो ।
दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री स्व. गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा उपलब्ध भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका,ऋषिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा, नवलपरासीलगायतका बिरामी सेवा लिन आउने केन्द्रले जनाएको छ ।