‘विश्वका मजदुर एक होऊ, तिमीले गुमाउने तिम्रा हातमा लागाएको हत्कडीबाहेक अरू केही छैन, पाउने सारा संसार छ’ कार्ल माक्र्सको यही नारा आज पनि मई दिवसका बेला विश्वभरि गुञ्जायमान गर्ने गरिन्छ । वर्षौंदेखि विकसित विकासशील जुनसुकै देशमा यस्तै हुँदै आएको देखिन्छ । मजदुर को हो, किन हो, कुन कुन विवशता र बाध्यतामा छ, तिनका दुःख दर्दहरू के छन्, उनीहरूलाई यो विवशताबाट मुक्ति किन मिलिरहेको छैन, किन एक व्यक्ति होइन पूराका पूरा परिवार नै मजदुर हुने गर्छ, किन एक पुस्तापछि अर्को पुस्तामाथि मजदुरीको बोझ पर्ने गर्छ आदि यस्ता धेरै गम्भीर प्रश्न उठाउने र छलफल गर्न थाल्ने हो भने अनेक व्यावहारिक कठिनाइ र समस्या खडा हुन थाल्छन् । यस कारण यस्ता प्रश्नहरूबाट तर्किएर सङ्घर्ष, आन्दोलन, एकता जस्ता शब्दाबलीको सहारा लिँदै र क्रान्तिकारी आवरण बनाउँदै अन्तर्राष्ट्रिय मई दिवस या मजदुर दिवस मनाउने औपचारिकता पूरा गर्ने गरिन्छ । जसले गर्दा वर्गीय शोषण र सामाजिक उत्पीडनको हत्कडीबाट यो आन्दोलन मुक्त हुन सकेको छैन ।
कार्ल माक्र्सले जतिबेला विश्वका मजदुरहरूको कुरा गरेका थिए, त्यतिबेला पूँजीवादी शक्तिहरूले जोड पक्रिसकेको थियो, औपनिवेशिक दासता ठाउँ ठाउँमा कायम रहेको थियो । साम्यवादले सङ्घर्षको नयाँ इतिहास लेखिरहेको थियो र विश्वले लोकतन्त्रको कखरा सिक्दै मात्र थियो । त्यसपछि विश्वको स्थिति बदलियो । धेरै देशले स्वाधीनता हासिल गरे, आफ्नो संविधान आफैँ पनि बनाए, राजनीति व्यक्ति र धर्मकेन्द्रित हुनको साटो जनकेन्द्रित पनि हुन थालेको भान भयो । शताब्दीयौँदेखि दबिएका कुल्चिएका मानिसहरूको हातमा निर्णायक शक्ति आएको जस्तो पनि भान प¥यो । यो परिवर्तन मानव सभ्यताको एउटा महत्वपूर्ण क्रम र कालखण्ड भने अवश्य थियो नै । जसरी आगो र चक्का आविष्कारले मानिसलाई सभ्यताका धेरै खुट्किला चढाइदिए त्यसरी नै राजनीतिक स्वतन्त्रता र त्यसबाट हासिल अधिकारहरूले मानिसलाई अझ अघि बढाउन मद्दत ग¥यो । विश्वका धेरै देशमा आज विकासको जुन झन्डा फहराइरहेको छ, त्यो यसै अधिकारका कारणले हो तर विश्वका कैयौँ देशका बारेमा अझै पनि निराशा कै स्थिति छ । लोकतन्त्रको तक्मा लगाएको संविधान भएर मात्र हुने रहेन छ । व्यवहारमा सामन्ती एवं दलाल पुँजीवादी मानसिकता छ्याप्छ्याप्ती भएपछि परिवर्तनको पदचिह्न र पदचाप नै विलुप्त हुँदोरहेछ । यस्तै चरित्र र व्यवहारले गर्दा आज देशका मजदुर, किसान राष्ट्रिय पुँजीपतिलगायतका सम्पूर्ण श्रमजीवी जनता कुनै पनि दलहरूको केन्द्रीय बहस र छलफलको विषय बन्न सकेका छैनन् र बन्ने गर्दैनन् ।
हुन त चुनावका बेला जनता अल्मल्याउन अनेक छद्म र छलकारी नाराहरू अघि सार्ने गरिएको छ । जनताका आधारभूत समस्याबाट उनीहरूलाई विषयान्तर गर्नका लागि अनेक झुटा सपना पनि देखाउने गरिन्छ तर उनीहरूका आधारभूत र खास मुद्दा या विषय वस्तुमा केन्द्रित र तल्लिन हुने कुराबाट मुख मोडिन्छ र तिनलाई नछोइकन अलग्गै छोडिन्छ । यो एउटा अत्यन्तै गम्भीर र दुःखदायी कुरा हो कि एकातिर देशका थोरै मानिसको हातमा अत्यधिक अर्थात् आधाभन्दा बढी सम्पत्ति केन्द्रित छ । अर्कोतर्फ विपन्न मजदुर किसान वर्गको हातमा न्यूनतम राष्ट्रिय आयको कुरोकन्थोसम्म कतै चल्दैन र छैन । यससम्बन्धी प्रावधान राख्ने कुरा त टाढैको कुरा भयो । हरेक देशले आफ्नै हिसाबले न्यूनतम आय निर्धारण गर्ने गर्छन् । मानौँ एउटा देशको मजदुरको भोक अर्को देशको भन्दा बढी या कम हुने गर्छ । चुनाव लड्ने दलहरूको घोषणापत्रमा पनि मजदुर वर्गको कुरा उनीहरूको जीवन सुरक्षित र असल भए जस्तै गरी कुनै वास्ता गरिएको हुँदैन या उनीहरूका लागि केही सहुलियतका नारा राखिदिएर छुट्टी लिइन्छ । मानिसले बाँच्न पाउने अधिकार भनेको उसले खान, लाउन र बस्न पाउने न्यूनतम आधार राज्यले तय गर्नु र त्यसको परिपालना गर्नु गराउनु हो । मूलतः त्यही नै मानव अधिकारको पनि मूलभूत आधार हो । त्यसको अभावमा श्रमजीवी वर्गले मानव अधिकार कसरी हासिल गर्न सक्छ र !
वास्तवमा जबसम्म श्रमजीवी वर्गले जीवन धान्ने न्यूनतम आधार पाउँदैन, उनीहरूलाई अलमल्याउन जाति, धर्म अर्थात् मठ, मन्दिर, गुम्बा, बिहार, मस्जिद, चर्च आदि अनेक संस्कृति, क्षेत्र आदिका नाममा विभाजित र भ्रमित तुल्याइन्छ तबसम्म कार्ल माक्र्सले भने जस्तो विश्वका मजदुरहरू एकजुट हुने आधार बन्दैन । उनीहरूको मुक्तिको बाटो कमजोर हुन्छ । उनीहरूले शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता पाउन सक्ने कुनै वस्तुगत अवस्था सिर्जना हुँदैन । त्यसैले मजदुर दिवस अर्थात् मई दिवस मनाउने गर्दा मजदुर वर्गका गम्भीर समस्याप्रति गरिखाने वर्गलाई सचेत, सङ्गठित र सङ्घर्षशील तुल्याइनु अत्यावश्यक छ, जसले गर्दा उनीहरूका मूलभूत समस्यामाथि राज्य र समाजको ध्यान केन्द्रित होस् । अन्यथा माक्र्सले जुन शोषणरहित समाज निर्माणको दिशाबोधका साथ ‘संसारका मजदुर एक होऊ’ भन्ने नारा दिएका हुन् र ‘उनीहरूसँग गुमाउने कुरा आफ्नो हत्कडी मात्र हो, पाउने कुरा सारा संसार छ’ भनेका हुन् । यथार्थतः त्यसको मर्म सार्थकता र उपादेयताको छेउसम्म पनि हामी नेपालमा अहिलेसम्म पुग्न सकिने स्थितिमा छैनौँ । यो एउटा कटु, अकाट्य र सत्य कुरा हो । अनि समस्याको समाधान यो होइन नै । उपभोक्तावादले नराम्रोसँग गाजेको सैद्धान्तिक विचलन आएको आजको विश्वमा मई दिवसको मर्म र भावनालाई जोगाउन र अघि बढाउन राष्ट्रिय अन्तर्राष्ट्रिय समग्र आत्मसमीक्षाका साथ अगाडि बढ्न सक्नु र सिक्नु परेको छ । यिनै भावनाका साथ नेपालसहित विश्वका सम्पूर्ण श्रमजीवी वर्गमा १३६ औँ मई दिवसको उपलक्षमा उच्च सम्मान तथा हार्दिक शुभकामना ।