• १८ वैशाख २०८२, बिहिबार

आहाराको खोजीमा गाउँ पस्दैछन् हिमचितुवा

blog

मुक्तिक्षेत्र गाउँपालिका –५, धार्काजुङ गाउँमा राति हिमचितुवाले मारेको च्याङ्ग्रा, खसी । तस्बिरः एक्याप जोमसोम

हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), बैशाख १७ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, धार्काजुङ गाउँका कृषक ङातर गुरूङको मंगलबार राति गोठमा रहेका पाँच च्याङ्ग्रा हिउँ चितुवाले मारेको छ । 

कृषक गुरूङसँगै सोही गाउँका अर्का कृषक च्याङ्ग्रापालक पेम्मा गुरुङ तीन च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणबाट मरेका छन् । दुई गोठमा प्रारम्भिक क्षति साढे दुई लाखको हाराहारीमा भएको अनुमान गरिएको छ । हिउँ चितुवाको आक्रमणबाट माउ, खसी, पाठापाठी मरेको र केही घाइते अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले बताउनुभयो । 

अधिकारीले भन्नुभयो, ‘‘बजारको मूल्यअनुसार मुचुल्का गरिएको छ, घाइते च्याङ्गाको सामान्य उपचार गर्नेगरी टोली फर्किएको छ ।’’ हिउँ चितुवाले गोठमा क्षति पुगेको सूचनाको आधारमा गाउँपालिका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङ, जिल्ला प्रहरी कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमबाट टोली घटनास्थलमा पुगेको थियो । 

मुस्ताङमा हिमचितुवाबाट बर्षेनी धेरै पशुचौपायाको क्षति हुनेगरेको छ । हिमचितुवाको क्षतिको अवलोकन गर्न गएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यक्रम व्यवस्थापक एवं हिउँ चितुवा विज्ञ डा. मधु क्षेत्रीले सामान्य गोठ भएकाले माथिल्लो क्षेत्रबाट प्रवेश गरेर क्षति गरेको बताउनुभयो । 

डा. क्षेत्रीले भन्नुभयो, ‘‘सुधारिएको गोठ नहुँदा पशुचौपायामा क्षति भइरहेको छ, अब अनुदान दिएर भए पनि सबै कृषकले सुधारिएको गोठ नै प्रयोग गर्नुपर्छ ।’’ डा. क्षेत्रीका अनुसार पोथीबाट अलग भएका हिमचितुवाका करिब दुई बर्षका भाले बासस्थान र आहराको खोजीमा बस्तीमा प्रवेश गर्दा क्षति हुनेगरेको छ । 

भाले चितुवाको बच्चा पनि आक्रमक हुन्छ । सामान्य गोठमा राखिएका पशुचौपायालाई सजिलै आक्रमण गर्ने पोथी नभई भाले हिमचितुवा धेरै भएको डा. क्षेत्रीको भनाइ छ ।

पोथी हिमचितुवा धेरै हिँडडुल नगर्ने, पुरुष जाति भने लामो दूरीसम्म पुग्न सक्ने भएकाले पनि हिमचितुवा र पशुबिचको द्वन्द्व बढ्दै जान थालेको डा. क्षत्रीले बताउनुभयो । ‘हिउँ चितुवाको बसोबास हुने ‘कोर एरिया’ मा आहाराको कमी भएपछि खोज्दै बस्ती आसपासका क्षेत्रमा आउने र लामो समयसम्म आसपासमै बसेर आक्रमण गर्ने गरेकाले सतर्कता अपनाउनुपर्ने एक्याप जोमसोमले जनाएको छ ।

हिमचितुवाको मुख्य आहारा झारल, घोरल नाउर, जंगली कुकुर, याक, चौरी लगायत गाउँघरमा पाइने पशुचौपाया रहेको छ । पछिल्लो समय मुस्ताङका बस्तीमा प्रवेश गरी पशुचौपायालाई क्षति गरेर दुःख दिन थालेको भन्दै स्थानीय कृषकले गोठ सुधारसहितका कार्यक्रमहरू माग्ने गरेको लोमन्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकाश केसीले बताउनुभयो । 

एक्याप जोमसोमका अनुसार आर्थिक वर्ष २०७९–८० मा हिउँ चितुवाको क्षति पुगेको १२ कृषकलाई राहत ५ लाख ५ सय वितरण गरिएको थियो । आर्थिक बर्ष २०८०–८१ मा २७ किसानको ३० वटा याक, १९ घोडा, ५ कुखुरा र २ घोडालाई हिमचितुवाले आक्रमण गरी क्षति गरेको एक्याप जोमसोमका रेञ्जर दिपक ओलीले जानकारी दिनुभयो । 

चालु आव २०८१–८२ मा हालसम्म ११ घरधुरीको ५३ च्याङ्ग्रा, चौरी ८ वटा, खसी २ र घोडा १ गरी ६४ पशुचौपायाको क्षति भई राहतका लागि निवेदन प्राप्त भएको एक्याप जोमसोमले जनाएको छ । मुस्ताङका पाँचवटै गाउँपालिकामा हिमचितुवाबाट पशुचौपायामा क्षति पुगेको छ । राहत स्थलगत निरीक्षणपछि मात्र उपलब्ध गराउने बताइएको छ ।