सन्तोषी रावल
बाजुरा, वैशाख १७ गते । शिक्षक आन्दोलनले सामुदायिक विद्यालयहरू देशभरी ठप्प छन् । त्यहीबेला बाजुराको एक विद्यालयले पठनपाठन बन्द नहोस् भनेर चालेको कदमको राम्रो सन्देश गएको छ ।
बडीमालिका नगरपालिका–३, रजालीस्थित चोयाकोट माध्यमिक विद्यालयमा, विद्यालय व्यवस्थापन समिति (विव्यस) र शिक्षक–अभिभावक सङ्घको संयुक्त पहलमा विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण सुरु भएको हो ।
यो जानकारी आमखबरजस्तो देखिन सक्छ, तर यसको प्रभाव गहिरो छ । जब काठमाडौँको सडकमा शिक्षक आन्दोलन गरिरहेका छन्, त्यो बेला टाढाको पहाडी गाउँमा पठनपाठन नछुटोस् भन्ने दृढ सङ्कल्पले यो पहल थालिएको हो ।
शिक्षक आन्दोलनको मूल मर्म : शिक्षा ऐन जारी गरियोस् भन्ने मागप्रति सम्मान प्रकट गर्दै पनि चोयाकोटका अभिभावक, विद्यालय व्यवस्थापन र स्थानीय अगुवाहरूले भने ‘विद्यार्थी पढ्नु पर्छ भन्ने सोचलाई कार्यान्वयनमा उतारेका छन् ।
विद्यालयका अध्यक्ष कृष्णबहादुर खड्काले भन्नुभएको छ, “आन्दोलन जायज होला, तर बालबालिकाले शिक्षा नपाउनु अन्याय हो । त्यसैले हामीले भर्ना र पुस्तक वितरणको कार्य सुरु गरेका हौ ।”
विद्यालयका प्रधानाध्यापक गोरखबहादुर थापाले आफूहरू आन्दोलनमा सहभागी रहेको तर विद्यालय व्यवस्थापन समितिले लिएको वैकल्पिक उपायमा कुनै आपत्ति नभएको बताएका छन् ।
टोल–टोलमा ‘शिक्षासत्र’ सुरु गर्ने योजनासँगै बालबालिकालाई व्यवहारिक ज्ञान, जीवनोपयोगी सीप र नैतिक शिक्षामा जोड दिने योजना बनाइएको छ । पाठ्यपुस्तक वितरण यही उद्देश्यमा आधारित भएर गरिएको हो ।
देशभर शिक्षक आन्दोलनको लहर छ, तर असर कसलाई परेको छ ? गरिब, ग्रामीण, सामुदायिक विद्यालयमा पढ्ने बालबालिकालाई शिक्षकहरूको मागलाई सम्बोधन गर्न सरकारले ढिलाइ गर्नु दुर्भाग्य हो, तर आन्दोलनको असरमा विद्यार्थीको भविष्य अन्धकारमा जानु झन पीडादायक हो ।
शिक्षक आन्दोलनको माग सार्थक हो, शिक्षा ऐनको खाँचो सधैं रहँदै आएको छ । तर आन्दोलनकै नाममा पठनपाठन पूर्णरूपमा अवरुद्ध गर्नु शिक्षाकै उद्देश्य र चेतनालाई चुनौती दिनु हो ।
शिक्षा नीतिमा सुधार ल्याउने बहस जारी रहन्छ, तर विद्यार्थी बाँचुन् भन्ने भावनाले मात्र शिक्षाको भविष्य उज्यालो हुनसक्छ । यस किसिमको समुदाय–केन्द्रित पहलले शिक्षा प्रणालीलाई बलियो बनाउने सम्भावना बोकेको छ ।
शिक्षक आन्दोलनको गम्भीरतासँगै यस्तो चेतनशील, वैकल्पिक अभ्यासहरू पनि राष्ट्रिय बहसको केन्द्रमा आउनुपर्छ । चोयाकोटको उदाहरणले हामीलाई सम्झाउँछ, ‘शिक्षा केवल सरकारको दायित्व होइन, यो समाजकै धर्म हो ।’
शिक्षक आन्दोलनको गम्भीरतासँगै यस्तो चेतनशील, वैकल्पिक अभ्यासहरू पनि राष्ट्रिय बहसको केन्द्रमा आउनुपर्छ । चोयाकोटको उदाहरणले हामीलाई सम्झाउँछ, शिक्षा केवल सरकारको दायित्व होइन, यो समाजकै धर्म हो ।’
यदि देशभरका विद्यालय व्यवस्थापन समिति, अभिभावक र समुदायले यस्तो कदम चाल्न सके भने आन्दोलनले निम्त्याएको संकटको बिचमा पनि शिक्षा बाँचिरहनेछ । चोयाकोटको अनुभवले देखाएको छ, “देश सुधार काठमाडौंबाट मात्र हैन, गाउँका साना स्कुलका आँगनबाट पनि सुरु हुन सक्छ ।”