• १७ वैशाख २०८२, बुधबार

पोखरा स्पोर्ट्स अवार्ड : चार विधाको मनोनयन सार्वजनिक

blog

सन्तोष सुवेदी 

कास्की, वैशाख १७ गते । खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने नवौँ संस्करणको स्पोर्ट्स अवार्डका लागि मनोनयन सार्वजनिक गरिएको छ ।

मञ्चले बुधबार चार विधामा मनोनयन सार्वजनिक गरेको छ । वर्ष उत्कृष्ट पुरुष खेलाडी विधामा भलिबलका विश्वास अधिकारी, टेनिसका प्रदीप खड्का र फुटबलका सुमित श्रेष्ठ मनोनयनमा पर्नुभएको छ ।

वर्ष उत्कृष्ट महिला खेलाडी विधाको मनोनयनमा भलिबलकी अरुणा शाही, आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर र फेन्सिङकी कृपा गुरुङ हुनुहुन्छ । वर्ष खेलाडी पुरुष र महिला हुने खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने छन् ।

यस्तै उदीयमान खेलाडीको विधामा एथलेटिक्सका बादल कार्की, भलिबलका जितबहादुर सार्की र क्रिकेटकी रचना चौधरी पर्नुभएको छ । उत्कृष्ट प्रशिक्षकमा टेनिसका निरज थापा, भलिबलका रमेश केसी र फुटबलका राजेन्द्र तामाङ उत्कृष्ट तीन मा पर्नुभएको छ । 

वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लबतर्फका विजेताले ३५ हजार रुपियाँसहित ट्रफी पाउनेछन् । वैशाख २६ गते पोखरा हुने स्पोर्ट्स अवार्डमा कूल सात विधामा अवार्ड प्रदान गरिने छ ।

बाँकी विधाहरू लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल सङ्घ वा क्लब र पत्रकारिता अवार्डको घोषणा केही समय पछि सार्वजनिक गर्ने मञ्चका अध्यक्ष एमबी आस्था मगरले जानकारी दिनुभयो ।

२०५७ सालमा स्थापना भएको खेलकुद पत्रकार मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।