• १७ वैशाख २०८२, बुधबार

गौमुखी ऋषिले तपस्या गरेको आकर्षक ‘गाईथुने’

blog

बागलुङको दक्षिण जैमिनी नगरपालिका –८ छिस्ती बेलबगरमा अवस्थित गाईथुने । तस्बिर :नवराज नेपाली

नवराज नेपाली

बागलुङ (गलकोट), बैशाख १७ गते । पवित्र कालीगण्डकी नदीको किनारमा अवस्थित छ गाईथुने । बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती बेलबगरमा अवस्थित गाईथुनेप्रति मानिसका विभिन्न मान्यता र बुझाई रहँदैआएको छ। 

पूर्वीय दर्शनको सबैभन्दा ठुलो ग्रन्थ वराह पुराणमा उल्लेख भएअनुसार यस ठाउँमा गौमुखी नाम गरेको ऋषिले तपस्या गरेका थिए । जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले उहाँको तपस्याबाट प्रसन्न भई भगवान् विष्णु गाईको स्वरूपमा प्रकट भएको र गाईको थुनबाट अमृत प्रदान गरी पाख्त (तपस्या पूरा गरेको) भएको मान्यता रहेको बताउनुभयो । यस ठाउँसँग अर्का दुई किम्बदन्ती पनि छन् । 

पौराणिक कथामा उल्लेख भएअनुसार यो त्रिवेणी क्षेत्र अन्तर्गत पर्ने एक महत्त्वपूर्ण स्थान मानिन्छ । यससँग जोडिएको किम्बदन्तिमा भगवान श्रीकृष्णले पालेको कामधेनु गाई त्यहाँबाट प्रकट भई दुध आइरहने भएकले गाईथुने रहन गएको मान्यता छ । हाल यहाँबाट दुध नचुहिए पनि गाइको थुनको आकारबाट अटुट रूपमा पानी बग्दैआएको छ । 

अर्कोथरी बुझाईमा गाईपालक भगवान कृष्णले पालेका गाई बगाएर ल्याएपछि त्यस ठाउँलाई गाइले नै नदी थुनिदिएको र नदी नै बाङ्गिएको मान्यता रहँदैआएको छ । त्यस स्थानमा कालीगण्डकी नदीको अवस्थितिलाई हेर्दा नदी केही भागमा नागबेली परेको स्थानीयको भनाइ छ। यी मान्यतालाई पुष्टि गर्न र यस ठाउँलाई थप आकर्षित गर्न मद्दत गरेको बताइएको छ ।  

गलेश्वरधाम, जैमिनीधाम, गाईथुनेलगायतका यी स्थानहरू धार्मिक हिसाबले अत्यन्त पवित्र स्थानहरूमा पर्दछन् । यस क्षेत्रमा भगवान् विष्णुको रूपमा पुजिने शालिग्राम पनि पाइने स्थानीयको बुझाइ छ ।

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी काेरिडोरसँगै जोडिएको यस क्षेत्रमा बागलुङ सदरमुकामदेखि ३३ किलोमिटर दूरी रहेको छ । यहाँ सवारीमार्फत पुग्न करिब सवा एक घण्टा लाग्छ । यसक्षेत्र हुँदै लामो, छोटो दूरीका सवारी साधनहरू २४ घण्टा गुड्ने गर्ने गरेको छ ।  

समुन्द्री सतहदेखि करिब ५५० मिटर उचाईमा रहेको यस ठाउँ हेर्न आन्तरिक पर्यटकहरू पुग्ने गरेको बताइन्छ । यस ठाउँमा पदमार्गसहित केही संरचनाहरू निर्माण गरिएका छन् । गाईथुने एक महत्त्वपूर्ण धार्मिक स्थानको रूपमा परिचय बनाएको छ ।  

पछिल्लो समय गण्डकी प्रदेश र जैमिनी नगरपालिकाले निरन्तर रूपमा विभिन्न संरचना निर्माण गर्दैआएको पदाधिकारीको भनाइ छ । यहाँसम्म पुग्न पैदल मार्गदेखि यस क्षेत्रको सुरक्षाका लागि तारबार गरिएको छ ।