• १७ वैशाख २०८२, बुधबार

मुख्यमन्त्री शाह नेतृत्वको टोली भारत प्रस्थान

blog

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मुख्यमन्त्री कमलबहादुर शाह सहितको टोली ।

धनगढी समाचारदाता

धनगढी, वैशाख १७ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको १० सदस्यीय टोली मङ्गलबार भारत प्रस्थान गरेको छ । भारत सरकारको आमन्त्रणामा मुख्यमन्त्री शाह नेतृत्वको टोली भारत भ्रमणमा गएको हो । भ्रमण टोली काठमाडौँ हुँदै भारतको दिल्ली प्रस्थान गरेको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो । 

दुवै देशको तर्फबाट यो पहिलो मुख्यमन्त्रीस्तरीय औपचारिक विदेश भ्रमण रहेको जनाइएको छ । 

भारत भ्रमणमा जाने क्रममा त्रिभुवन विमास्थलमा पत्रकारसँग कुरा गर्नुहुँदै मुख्यमन्त्री शाहले भारतमा कृषि, पर्यटन, ऊर्जा र प्रदेश सरकारले आयोजना गर्ने लगानी सम्मेलनलगायतका विषयमा छलफल हुने बताउनुभयो । यो भ्रमणले दुईपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने उहाँको विश्वास छ । 

टोलीले वैशाख २२ गतेसम्म दिल्ली, देहरादुन, लखनउको भ्रमण गर्ने जनाइएको छ । भ्रम णको क्रममा टोलीले दोस्रो दिन दिल्लीमा उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ । यसै गरी, विवेकानन्द अन्तर्राष्ट्रिय फाउन्डेसनसँग अन्तर्क्रिया, केही ठाउँको अवलोकन, भारतीय कृषि अनुसन्धान संस्थाको भ्रमण गर्ने कार्यक्रम रहेको छ । यस्तै पश्चिमसेती र टनकपुर बाँधको काम गरिरहेको एनएचपिसीको कार्यालयमा पुगेर छलफल गर्ने कार्यक्रम पनि रहेको छ । 

त्यसै गरी देहरादुनमा उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी र कृषिमन्त्रीसँग भेटवार्ता, पर्यटकीय क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ । त्यसपश्चात् अयोध्यामा राम मन्दिरको दर्शन गर्ने कार्यक्रम पनि रहेको छ । टोलीले लखनउमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटघाट गर्ने र स्थलमार्ग भएर स्वदेश फर्किने जनाइएको छ ।