यामराज बिष्ट
पञ्चकोशी (दैलेख), बैशाख १७ गते । दैलेखको दुल्लु अस्पतालमा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट एक हजार बढी बिरामीले उपचार सेवा पाएका छन् । स्वास्थ्य सेवा कार्यालय दैलेख र दुल्लु नगरपालिकाको आयोजनामा बिशेषज्ञ स्वास्थ्य शिविर तथा जनस्वास्थ्य अभियान कार्यक्रम अन्तर्गत शिविर सञ्चालन गरिएको हो ।
शिविरमा स्त्री रोग, मधुमेह, उच्च रक्तचाप, हाडजोर्नी तथा नसासम्बन्धी रोग, मानसिक रोगसम्बन्धी समस्या लगायतबारे सेवा प्रदान गरिएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक नवराज सुवेदीले बताउनुभयो । तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा दुल्लु नगरपालिका लगायत आसपास क्षेत्रका बिरामीको पनि उपचार गरिएको उहाँले बताउनुभयो ।
कार्याक्रममा दुल्लु नगरपालिकाका नगरप्रमुख भरतप्रसाद रिजालले नागरिकले घरदैलोमै सेवा पाउँदा खुसी व्यक्त गर्नुभयो । निःशुल्क स्वास्थ्य शिविरले स्थानीय समुदायको स्वास्थ्य स्थितिमा सुधार ल्याउनुका साथै स्वास्थ्य सेवामा पहुँच बढाउन महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो ।
घरदैलोमा स्वास्थ्य शिविर आयोजना गरिएपछि आर्थिक अवस्था कमजोर भएका बिरामी बढिजसो लाभान्वित भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका नित्तिक कार्यालय प्रमुख मनोज बिकले बताउनुभयो । शिविरमा बिरामीलाई उपचार सेवाका साथै आवश्यक परामर्श, औषधी वितरण गरिएको थियो ।