अमरराज नहर्की
तनहुँ, वैशाख १६ गते । कुमाल समुदायको प्रख्यात पाउदुरे नाच संरक्षणका लागि पहल थालिएको छ । सामाजिक विकास कार्यालय तनहुँ र कुमाल समाज नेपाल तनहुँले पाउदुरे नाच उत्थान र संरक्षणका लागि पहल गरेका हुन् ।
अहिलेका पुस्ताले पाउँदुरे नाच बिर्संदै गएकाले लोप हुने खतरा बढेपछि यसको संरक्षणको सहयोग गरिएको सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विदुरहरि आचार्यले बताउनुभयो । कुमाल समुदायको मौलिक संस्कृति संरक्षण र पुस्ता हस्तान्तरणका लागि नाच पुस्ता हस्तान्तरण कार्यक्रमलाई सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।
एक हप्ते प्रशिक्षणले कुमाल समुदायको मौलिक संस्कृति संरक्षण गर्न टेवा पुग्ने आचार्यको विश्वास थियो । कुमाल समुदायको मौलिक संस्कृतिलाई उजागर गर्न र युवा पुस्तामा संस्कृति हस्तान्तरण गर्न प्रशिक्षण कार्यक्रम फलदायी हुने प्रमुख आचार्यले बताउनुभयो । संस्कृति संरक्षण अभियानअन्तर्गत पाउदुरे नाचको पुस्ता हस्तान्तरण गर्न सोमबारबाट व्यास नगरपालिका–९ गजौडे, कुमाल गाउँमा एक हप्ते पाउदुरे नाँच प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
वैशाख १५ देखि २१ गते पाउदुरे नाच पुस्ता हस्तान्तरणको लागि कार्यक्रम गरिएको हो । कुमाल समाज नेपाल तनहुँको सहकार्यमा सामाजिक विकास कार्यालय तनहुँद्वारा आयोजित एक हप्ते पाउदुरे नाच प्रशिक्षण कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । सो अवसरमा सांसद श्रेष्ठले मौलिक संस्कृतिलाई जीवन्त राख्नुपर्ने बताउनुभयो ।
संस्कृति लोप भए पहिचान लोप हुने र पहिचान लोप भए अस्तित्व नै सकिने भएकाले संस्कृतिलाई जीवन्त राख्न पुस्तान्तरण गरिनु जरुरी रहेको उहाँले बताउनुभयो । सांसद श्रेष्ठले सस्कृति हराए पहिचान गुम्ने हुँदा आफ्नो मौलिक संस्कृतिमा विशेष चासो र ध्यान दिन कुमाल समुदायलाई सुझाव दिनुभयो ।
व्यास नगरपालिकाका प्रवक्ता तथा वडा ९ का वडाध्यक्ष सुरेश थापाले संस्कृति संरक्षणमा कुमाल समुदाय जागरुक हुनु अत्यन्त प्रशंसनीय कार्य भएको बताउनुभयो । कुमाल समाज नेपाल तनहुँका अध्यक्ष लोकबहादुरले कुमाल समुदायको मौलिक नृत्य पाउदुरे तनहुँको व्यास नगरपालिकाको कलेस्ती कुमाल गाउँ र घिरिङ गाउँपालिकामा विशेष पर्वमा नचाउने गरिने जानकारी दिँदै यो नाचको आफ्नै छुट्टै विधि भएकाले प्रशिक्षण प्रदान गर्नु परेको बताउनुभयो । कुमालका अनुसार नाचका विभिन्न चरण हुने गर्दछ ।
रामायण खण्ड र कृष्ण चरित्र खण्डमा रहेर यो नाच नचाइने गरिन्छ । रामायण खण्डमा रामको जन्मदेखि वनवाससम्मको गतिविधिलाई गीतको माध्यमबाट गाउने गरिन्छ र गीतकै पारामा बिजाबारे र मारुनीले नाच्ने गरिन्छ ।
यसैगरी कृष्ण चरित्र खण्डमा कृष्णका बारेमा गाइने गरिन्छ । गीतको शैली फरक–फरक भएतापनि भाव एउटै हुन्छ । नेपाली मौलिक संस्कृति र कुमाल जातिको संस्कृतिसँग जोडिएको पाउदुरे नाचलाई पुर्नजीवित गराउन आफूहरू जुटेको व्यास नगरपालिका–१० अधँरीभन्ज्याङ निवासी रीता कुमालले बताउनुभयो ।
जिल्लाको विभिन्न पालिकामा छरिएर बसोवास गर्ने कुमाल समुदायहरूलाई एउटै थलोमा जम्मा गरेर गरिएको उत्त पुस्तान्तरण कार्यक्रममा दलबहादुर कुमालले प्रशिक्षक प्रदान गर्नु भएको समाजले जनाएको छ । समाजका अनुसार भानु, व्यास, शुक्लागण्डकी, भीमाद नगरपालिका र घिरिङ गाउँपालिकामा कुमाल समुदायको बसोवास छ । जिल्लाभर कुमाल जातिको आठ हजार ७२७ जनसङ्ख्या छ ।