हरेक वर्षको चैत कृष्ण औँसीका दिन काठमाडौँको टुँडिखेलमा घोडेजात्रा मनाइन्छ । यस दिन टुँडिखेलमा थुप्रै घोडालाई कुदाइन्छ । घोडामा चढेका सैनिकले विभिन्न खेल प्रदर्शन गर्छन् । यस दिन काठमाडौँ उपत्यकामा बिदा दिने चलन पनि छ । घोडेजात्रा कहिलेदेखि सुरु भएको भन्नेबारेमा इतिहासमा लेखिएको छैन । परापूर्वकालदेखि घोडेजात्रा सुरु भएको हो । मल्ल राजाका पालादेखि घोडेजात्रा सुरु भएको भन्ने पनि गरिन्छ । यसको थालनीका बारेमा विभिन्न किंवदन्ती छ । तीमध्येका एउटा किंवदन्ती यहाँ चर्चा गर्ने छौँ ।
परापूर्वकालमा काठमाडौँ सहरमा अहिलेको जस्तो बाक्लो बस्ती थिएन । वसन्तपुर, ठमेल, असन, जैसीदेवल आदि स्थान मुख्य सहरभित्र पर्थ्यो । टुँडिखेल सहरभन्दा बाहिर पर्थ्यो । काठमाडौँ सहरभित्र एक जना जुवाडे थिए । धेरै जुवा खेल्नेलाई जुवाडे भनिन्छ । रातभर जुवा खेल्दा उनले सबै सम्पत्ति हारे । निकै भोकाएका हुनाले उनी दिदीको घरमा गए । उनकी दिदी धनी थिइन् । दिदीले भाइलाई मिठा मिठा परिकार बनाएर सुनको थालमा खान दिइन् । सुनको थाललाई लुगाभित्र लुकाउँदै उनी दिदीको घरबाट भागे ।
जुवाको खालमा पुनः बसे । हेर्दाहेर्दै सुनको थाल पनि हारे । फेरि दिदीको घरमा आएर माफी माग्दै भोकाएको बताए । दिदीले पहिले जस्तै मिठा परिकार बनाएर चाँदीको थालमा दिइन् । पहिले जस्तै चाँदीको थाल पनि लिएर सुटुक्क निस्किए । चाँदीको थाल पनि जुवामा हारे ।
फेरि दिदीको घरमा लुरुक्क पुगे । दिदीसँग माफी मागे । यस पटक दिदीले टपरीमा खानेकुरा दिइन् । उनले दिदीले हेला गरेको ठानेर खानेकुरा कपडामा पोको पारेर फाल्न हिँडे । जुवा खेल्दा धेरै दिनसम्म ननिदाएकाले थकित पनि थिए । रुखमुनि बसेका मात्र थिए भुसुक्कै निदाए । निदाएका बेला लात्ती लाग्दा कपडाको पोकोभित्रको भात बाहिर निस्कियो । रुखमा बसेका चराहरूले खाए । एकैछिनमा चराहरूले सुनका फुल पार्न थाले । ती मानिस ब्युँझिए । आफ्ना वरपर सुनका टुक्रैटुक्रा देखेपछि छक्क परे । सुनका सबै टुक्रालाई अघि भात राखेको टालोमा जम्मा गरे । बोक्न खोज्दा सकेनन् ।
त्यसैबिचमा एउटा राक्षस उनी भएतिर आयो । आहाराका रूपमा मानिसलाई खान पाउने भएपछि भोकाएको राक्षस दङ्ग पर्यो । त्यो राक्षसको नाम गुरुमापा थियो । ती व्यक्तिले गुरुमापालाई आफू सानो आकारको भएकाले पेट नभरिने बताउँदै भने, “मेरा घर हिँड्नुहोस् त्यहाँ थुप्रै राँगा, बाख्रा छन् । तिनलाई खानु होला । सुन बाँधिएको यो टालो पनि बोकिदिनुहोस् । टन्न खाइसकेपछि मात्र मलाई यी सुनका डल्ला दिए हुन्छ ।”
धेरै खान पाउने भएपछि गुरुमापा पनि खुसी भयो । उसले हुन्छ भन्यो । गुरुमापाले सुनको थैला पनि बोकिदियो । घर पुगेपछि गुरुमापाले एउटा सिङ्गो राँगा खान पायो । टन्न अघाएकाले केही दिन उ सुत्यो । उठेपछि फेरि अर्को राँगा खान्थ्यो । यो क्रम चलिरह्यो । यो कुरा सहरमा मानिसले थाहा पाए । उनीहरूलाई यसरी राक्षस पल्किएको मन परेको थिएन ।
सहरबाट एकाएक बच्चा हराउन थाले । गुरुमापाले टोलका बच्चा चोरी गरी खान थालेको कुरो पत्ता लाग्यो । अब बर्बाद भयो । सहरका बासिन्दाले सल्लाह गरेर सहरभन्दा बाहिर रहेको चौर टुँडिखेलमा गुरुमापालाई ल्याएर राख्ने र त्यहाँ खानेकुराको व्यवस्थापन गरिदिने निर्णय गरे । गुरुमापालाई सबै मिलेर फकाएर टुँडिखेलमा ल्याएर आए । सबैको सल्लाह अनुसार राति सुतेका बेला गुरुमापाको जिउमाथि घोडालाई कुदाउन लगाइयो । घोडाको कुल्चाइले गुरुमापा मर्यो । त्यसको खुसियालीमा टुँडिखेलमा घोडेजात्राको आयोजना गरिँदै आएको किंवदन्ती छ । यस वर्षको अर्थात् २०८१ सालको घोडेजात्रा चैत १६ गते शनिबार परेको छ ।
– मुना डेस्क