गोकर्ण पौडेल
तुलसीपुर, वैशाख १५ गते । दाङमा रातो केराको खेती सुरु भएको छ । ‘सुगर फ्री’ रूपमा चिनिने यो केराको खेती तुलसीपुर उपमहानगरपालिका–१७ मा रहेको नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा सुरु गरिएको हो ।
क्याल्सियम र चिनीको मात्रा कम हुने भएकाले मधुमेहका बिरामीका लागि उपयुक्त मानिने केराको बोट र फल दुवै रातो हुन्छ । अन्य केराको समयअनुसार फल्ने र त्यस्तै हुने यसको बोट भने निकै आकर्षक देखिन्छ । एकीकृत कृषि तथा पशुपक्षी विकास सहकारी एग्रो टुरिज्म संस्थाले परीक्षणका रूपमा उक्त केरा लगाएको हो ।
संस्थाले विश्वविद्यालयको ३५ बिघा जग्गा लिजमा लिएर माछापालनसँगै रातो केराको परीक्षण उत्पादन सुरु गरेको छ । यो केरा दक्षिण भारतमा बढी मात्रामा पाइन्छ ।
संस्थाका दीपेन्द्र वलीले गाई बस्तुपालन गरेर पर्यटकलाई रातो केराको जुस बिक्री वितरणका लागि उत्पादन सुरु गरेको बताउनुभयो । उहाँले तीन सय ५० वटा बेर्नाबाट परीक्षण उत्पादन सुरु गरेको र केराले उत्पादन दिन थालेको बताउनुभयो ।
रातो केराको बोट सामान्य केराजस्तै हुन्छ । यसले ‘जी नाइन’ र ‘विलियम हाइब्रेड’ को तुलनामा दुई महिना ढिलो फल दिन्छ । फल पनि यसको रातो र ठुलो हुन्छ । कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी एवम् कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार रातो केरा पानी नजम्ने, बलौटे, दोमटमा राम्रो फल दिने बताउनुहुन्छ । अर्थविज्ञ लामिछानेले रङ्गीन फलफूल र तरकारीमा पौष्टिक तत्व बढी पाइने भएकाले अन्य केराभन्दा रातो केरामा बढी पौष्टिक तत्व पाइने बताउनुभयो ।
लामिछानेका अनुसार जिल्लाको गढ्वा गाउँपालिकाका किसानले रातो केराको परीक्षण उत्पादन सुरु गरे पनि सफल नभएको बताउनुभयो ।