• २३ असार २०८१, आइतबार

काउलीमा भेटियो अत्यधिक विषादी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, जेठ २५ गते । देशकै ठूलो तरकारी बजार कालीमाटीमा मङ्गलबार भित्रिएको काउलीमा खान नहुने विषादी भेटिएको छ । मकवानपुरको थाहा नगरपालिका–९ वडाबाट मङ्गलबार बिहान कालीमाटीमा भित्रिएको काउलीको नमुना परीक्षण गर्दा खान नहुने विषादी भेटिएपछि कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले त्यसलाई नष्ट गरेको हो । 

कालीमाटी तरकारी बजार परिषद्मा रहेको द्रुत विषादी विश्लेषण प्रयोगशालाबाट परीक्षणपछि आएको रिपोर्टका आधारमा ३९ केजी काउली नष्ट गरिएको समितिका निर्देशक विनय श्रेष्ठले जानकारी दिनुभयो । तरकारीको नमुना प्रयोगशालाबाट परीक्षण भएर आउँदासम्म विषादी भएको केही परिणामको काउली  बजारमा गएको हुनसक्ने श्रेष्ठले स्वीकार गर्नुभयो । 

उहाँले भन्नुभयो, “पहिले परीक्षणका लागि नमुना लिएका तरकारी बिक्री गर्न रोक्ने गरिन्थ्यो, अहिले यो चलन छैन । त्यसैले बजारमा गएको हुनुपर्छ ।” तर सम्बन्धित व्यापारीले भने बजारमा काउली नगएको दाबी गरेका छन् ।

प्रयोगशालाका अनुसार मकवानपुरबाट आएको काउलीको नमुना परीक्षण गर्दा विषादी रोकावट दरको ९१ प्रतिशत भेटिएको थियो । प्रयोगशालाले उक्त तरकारी उपभोग गर्दा स्वास्थ्यमा गम्भीर असर गर्ने विषादीको मात्रा पाइएको भन्दै तुुरुन्त नष्ट गर्न कालीमाटी बजारमा रहेको समितिलाई आग्रह गरिएको जनाइएको छ ।  

चालू आर्थिक वर्ष २०७८/७९ को साउन १ देखि जेठ २४ गतेसम्म कालीमाटीको द्रुत विषादी विश्लेषण एकाइमा दुई हजार ५७६ वटा नमुना परीक्षण गरिएकोमा ४६ वटामा विषादी रोकावटको दर ४६ प्रतिशतभन्दा माथि पाइएको छ । यस्तै उक्त तरकारीको नमुना परीक्षण गरेका मध्ये २९ प्रतिशतमा विषादीको रोकावट दर ३५ देखि ४५ प्रतिशत पाइएको छ ।

जुन केही पर्खेर वा पुनः परीक्षण गरेर मात्रै उपभोग सकिने केन्द्रीय प्रयोगशालाका बाली संरक्षण अधिकृत राजिवदास राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सो अवधिमा अन्य तरकारीमा विषादी रोकवाट दर ३५ प्रतिशतभन्दा कम रहेको पाइएको छ । कालीमाटीमा विषादी भेटिनेमा गोलभेडा, काउली, बोडी, हरियो फर्सी, भेडेखुर्सानीलगायतमा पाइएको प्रयोगशालाले जनाएको छ । 

कालीमाटीको द्रूत विषादी विश्लेषण प्रयोगशालामा कीटनाशकतर्फ  अर्गानोफोफोरस र ढुसीनाशकतर्फ कार्वामेट समूहको मात्रै परीक्षण हुने प्रविधि भएकाले यीबाहेक विषादी प्रयोग भए वा नभएको यस रिपोर्टबाट थाहा नहुने बाली संरक्षक अधिकृत राजभण्डारीको भनाइ छ । कालिमाटीमा दैनिक एक हजार टनभन्दा बढी हरियो तरकारी भित्रिने गरेको छ ।