• १४ वैशाख २०८२, आइतबार

बागलुङमा शालग्राम महोत्सव हुने

blog

बागलुङ नगरपालिका ४ कुँडुलेफेदीमा रहेको शालग्राम सङ्ग्रहालय । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, वैशाख १४ गते । बागलुङ नगरपालिका ४ कुँडुले फेदीमा शालग्राम महोत्सव हुने भएको छ । रंगवैकटेश मुक्तिनारायण मन्दिरको ३८ औँ ब्रम्होत्सवको अवसरमा आगामी वैशाख १७ देखि २१ गतेसम्म शालग्राम महोत्सव हुने मन्दिरका अध्यक्ष तथा शालग्राम सङ्ग्राहलयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

महोत्सवअन्तर्गत दैनिक पाठपारायण, रामायण प्रवचन, भजनकीर्तन, १ सय ८ कलश पुजन, शालग्रामको महत्त्वबारे चर्चा परिचर्चा, यज्ञ हवन, विद्धान गुरुजनबाट प्रवचन लगायतका कार्यक्रम गरिने स्वामी प्रपन्नाचार्यले बताउनुभयो । उहाँका अनुसार शालग्राम शिला र शालग्राम पाइने एकमात्र नदी कालीगण्डकीको महत्त्वबारे पनि महोत्सवमा चर्चा हुने छ ।

महोत्सवलाई सफल बनाउन विभिन्न समिति र उपसमिति गठन गरी कामको जिम्मेवारी प्रदान गरिएको सङ्ग्रहालयका उपाध्यक्ष हरिप्रसाद शर्मा उपाध्यायले जानकारी दिनुभयो। अहिले सङ्ग्रहालय परिसर सरसफाइ, प्रचारप्रसारका कार्य भइरहेका छन् । 

बाघको मुखाकृति सुरुङ निर्माण गरी सङ्ग्रहित गरिएका सवा लाख शालग्रामको दर्शन तथा अवलोकनका लागि पछिल्लो समय दैनिक रूपमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको भिड लाग्ने गरेको स्थानीय कृष्णप्रसाद आचार्यले बताउनुभयो । महोत्सवको उद्घाटन गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले गर्ने कार्यक्रम रहेको छ ।

बागलुङ कालिका भगवती, मुस्ताङको मुक्तिनाथ दर्शन गर्न जाने हजारौँ पर्यटक अहिले सङ्ग्रहालयमा पुग्न थालेका छन् । १० करोड बढी लगानीबाट धार्मिक महत्त्वका संरचनाको निर्माण गरिएपछि सङ्ग्रहालयमा आउने पर्यटकको सङ्ख्या हरेक वर्ष बढ्दो छ । सुरुङभित्र कालीगण्डकीको शिर दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मको आकृति बनाइएको छ ।

चाडपर्व र बिदाको समयमा धेरै पर्यटक त्यहाँ पुग्ने गर्छन् । खासगरी दक्षिण भारतका पर्यटक बढी आउने गरेको सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नाचार्यले बताउनुभयो । गत आर्थिक वर्षमा एक लाखभन्दा बढी पर्यटकले शालिग्रामको अवलोकन गरेका थिए । यो वर्ष हालसम्म २५ हजारभन्दा बढी पर्यटकले सङ्ग्राहलयको अवलोकन गरेका छन् ।