ठाकुरप्रसाद आचार्य
म्याग्दी, वैशाख १४ गते । म्याग्दीका दुई प्रशिद्ध धार्मिकस्थल जोड्ने सडक स्तरोन्नति योजना सञ्चालनको तयारी गरिएको छ । बेनी नगरपालिका ९ स्थित गलेश्वर शिवालयदेखि वडा नम्बर ५ मा रहेको धार्मिक स्थल पुलाश्रम हुँदै जागन्नाथ जोड्ने सडक स्तरोन्नति योजना सञ्चालनको तयारी गरिएको हो ।
करिब एक दशक अघि ट्रयाक खुलेको गलेश्वर–काउलेगौडा–पुलाश्रम–जगन्नाथ सडक स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारले तीन करोड ६० लाख रुपियाँ बजेट सुनिश्चित गरेसँगै योजना कार्यान्वयनको प्रक्रिया अघि बढेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।
दुई धार्मिक स्थललाई जोड्ने साढे तीन किलोमिटर दूरीको उक्त सडक स्तरोन्नति योजनाका लागि प्रदेश सरकारले बजेट सुनिश्चित गरेसँगै ठेक्का प्रक्रिया अगाडि बढाइएको पूर्वाधार विकास कार्यालय म्याग्दीका सब इन्जिनियर विक्रम थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘प्रदेश सरकारले बजेटको सुनिश्चित गरेपछि कार्यालय योजना सञ्चालनको तयारीमा जुटेको छ । एक दुईदिन भित्रमा ठेक्का आह्वानको सूचना प्रकाशित हुन्छ ।’’
उक्त योजनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ७२ लाख बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । सडकको विभिन्न स्थानहरूमा गरेर तीन सय ५८ घनमिटर सडक ढलान, टेवा पर्खाल, नाली निर्माण र सडक ग्राभेल गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । एक वर्ष भित्र निर्माण सम्पन्न गर्नेगरी चालु आर्थिक वर्ष भित्र नै निर्माण व्यवसायी छनोट गरी ठेक्का सम्झौता गरेर योजना कार्यान्वयन अगाडि बढाइने कार्यालयले जनाएको छ । यसअघि स्थानीय तह र प्रदेश सरकार मार्फत सडकका विभिन्न स्थानहरूमा भएको कामलाई छाडेर सडक स्तरोन्नतिको काम हुने कार्यालयका सब इन्जिनियर थापाले बताउनुभयो ।
दुई महत्त्वपूर्ण धार्मिक स्थल जोड्ने सडक स्तरोन्नति भएपछि गलेश्वर शिवालय मन्दिरको दर्शनका लागि आएका भक्तजनहरू पुलाश्रम र जगन्नाथ मन्दिर पुग्न सहज हुने भएकाले धार्मिक पर्यटकको आगमन बढ्ने विश्वास गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।