अविनाश चौधरी
धनगढी, वैशाख १३ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीलाई भेट्नु हुने भएको छ।
एक हप्ते भारत भ्रमणको क्रममा उहाँले दुवै प्रदेशका आफ्नो समकक्षी र दिल्लीमा मन्त्रीलाई भेटघाट गर्ने कार्यक्रम तय भएको हो। भारत सरकारको आमन्त्रणमा मुख्यमन्त्री शाहसहितको १० सदस्यीय टोली वैशाख १६ देखि २२ गतेसम्म एकहप्ते भारत भ्रमणमा जाँदैछ। १६ गते काठमाडौँबाट हवाईमार्ग भएर दिल्ली जाने र लखनऊ पुगेर स्थलमार्ग भएर स्वदेश फर्कने मुख्यमन्त्री शाहले आज पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो। उहाँले एक हप्ते भ्रमणको क्रममा दिल्ली, देहरादुन र त्यसपछि अयोध्यामा राम मन्दिरको दर्शन गर्दै लखनऊ पुग्ने उल्लेख गर्नुभयो।
मुख्यमन्त्री शाहले दिल्लीमा त्यहाँका मन्त्रीहरूलाई भेट्ने, विवेकानन्द अन्तर्राष्ट्रिय फाउन्डेसनसँग अन्तरक्रिया गर्ने, केही साइट अवलोकन गर्ने लगायतको कार्यक्रम तय गरिएको छ। यस्तै, पश्चिमसेती र टनकपुर बाँधको काम गरिरहेको एनएचपिसीको कार्यालयमा पुगेर छलफल गर्ने कार्यक्रम पनि रहेको मुख्यमन्त्री शाहले जानकारी दिनुभयो।
दिल्लीपछि मुख्यमन्त्रीको टोली देहरादुन जाने र त्यहाँ उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। देहरादुनपछि अयोध्या जाने र त्यहाँबाट लखनऊ पुगेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटघाट गर्ने मुख्यमन्त्री शाहले जानकारी दिनुभयो। उहाँले भन्नुभयो,“योगी आदित्यनाथसँग कुन दिन भेट्ने भन्ने कुराको टुङ्गो लागिसकेको छैन तर उहाँको कार्यालयले समय मिलाइरहेको छ।”
एक हप्ते भारत भ्रमणको क्रममा कृषि, पर्यटन, ऊर्जाको बारेमा मुख्य रूपमा कुरा गर्ने शाहको भनाइ छ। यसैगरी, गौरीफन्टासहित अरू नाका व्यवस्थापन, प्रदेश सरकारले आयोजना गर्न गइरहेको लगानी सम्मेलनको बारेमा पनि कुरा गर्ने उहाँले बताउनुभयो।