अविनाश चौधरी
धनगढी, वैशाख १३ गते । सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर आगलागी घटनाका पीडित परिवारलाई राहत सहयोगका लागि १० लाख रुपियाँ दिने निर्णय गरेको छ ।
मानवीय राहत स्वरूप पीडित परिवारका लागि तत्कालै १० लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । उहाँले सहयोग रकम सम्बन्धितलाई नियमानुसार उपलब्ध गराउनका लागि साँफेबगर नगरपालिकामा पठाउने उल्लेख गर्नुभयो ।
शनिबार बिहान ३ बजेदेखि लागेको आगो सुरक्षा निकाय, स्थानीयको प्रयासमा बिहान ६ बजे नियन्त्रणमा आएको जनाइएको छ । आगलागीबाट १० परिवारको घर, पसल जलेर ध्वस्त भएको प्रारम्भिक विवरण आएको मुख्यमन्त्री शाहको भनाइ थियो ।
उहाँले तीन करोड ८६ लाख रुपियाँ बराबरको क्षति भएको खबर आएको उल्लेख गर्दै भन्नुभयो, “क्षति विस्तृत विवरण आएपछि थप अन्य सहयोग गर्न प्रदेश सरकार तयार छ ।” केही हप्ता अगाडि मात्रै अछामकै बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा भिषण आगलागी भएको थियो । आगलागी लगायत विभिन्न विपद्का घटना घटिरहेकाले सबैलाई सतर्क रहन मुख्यमन्त्री शाहले आग्रह गर्नु भएको छ ।