• १३ वैशाख २०८२, शनिबार

सभापति देउवाद्वारा दुःख व्यक्त

blog

काठमाडौँ, वैशाख १३  गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ कांग्रेसका पूर्वसभापति तीर्थराम डङ्गोलको निधन भएको खबरले आफू मर्माहत भएको बताउनुभएको छ । 

नेता डङ्गोलको निधनमा आज शोक वक्तव्य जारी गर्दै उहाँले “नेपाली कांग्रेस काठमाडौँका पूर्वसभापति, पूर्वस्वास्थ्य राज्यमन्त्री, मुलुकको लोकतान्त्रिक आन्दोलनका योद्धा डङ्गोलको निधनको खबरले मलाई अत्यन्त दुखित बनाएको छ । उहाँले कांग्रेसको सङ्गठन निर्माण र देशको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीले बिर्सने छैन ।” 

सभापति देउवाले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । नेता डङ्गोलको शुक्रबार राति ७७ वर्षको उमेरमा निधन भएको हो । उहाँको पार्थिव शरीरलाई आज बिहान ११ः०० बजेदेखि नै पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ । दिउँसो १ः०० बजेसम्म शव राखिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । अपराह्न २ः०० बजे काठमाडौँको टेकु दोभानमा उहाँको दाहसंस्कार गरिने छ ।

सभापति देउवाले नेता डङ्गोलको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । रासस