• १३ वैशाख २०८२, शनिबार

भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छ: उपाध्यक्ष पोखरेल

blog

काठमाडौं, वैशाख १३ गते । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । 

शनिवार ललितपुरमा मनमोहन अधिकारीको २६ औँ स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकातिर दक्षिण—पूर्व—पश्चिम १८ सय किलोमिटर सीमा जोडिएको छिमेकी भारत र अर्कोतिर उत्तरमा १४ सय किलोमिटर सिमाना जोडिएको चीन रहेको बताउनु भयो । चीनसँगको सिमाना हिमालले पर्खाल सरह काम गरेको भए पनि भारतसँग खुला सिमाना रहेको बताउनु भयो । भारतसँग विगतमा भएका सन्धि, सम्झौतहरु अद्यावधि हुन नसकेको बताउनुभयो । बरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालले आफूलाई राष्ट्रिय स्वाधीनता, स्वाभिमानको लागि, अखण्डताको लागि कतिपय कुरामा गम्भीरताका साथ सोच्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । 

एमालेले आफ्ना अठोट, सङ्कल्प, उद्देश्यमा समर्पित भएर लागि रहनुपर्ने जरुरी रहेको बताउनुभयो । नेपालको राजनीतिमा  नेकपा एमालेलाई कमजोर देखाउने कोसिस भइरहेको बताउनु भयो । उहाँले एमाले जहिले पनि प्रतिकुलतासँग जुध्दै अघि बढेको पार्टी भएको जिकिर गर्नुभयो । एमालेलाई आफ्नो भूमिकाबाट च्युत गराउनको लागि चौतर्फी कोसिस भइरहेको बताउनु भयो । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘नेपालको पोलिटिक्समा अनेक ढङ्गले समस्या छन् भन्ने हिसाबले चित्रण गर्ने, नेकपा एमालेलाई कमजोर देखाउने यस हिसाबले एउटा कोसिस भइरहेको छ । तर नेकपा एमाले जहिले पनि प्रतिकुलतासँग जुध्दै, अप्ठ्याराहरूसँग जुध्दै, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको पक्षमा, स्वाधीनताको पक्षमा, मुलुकलाई समृद्ध बनाउने कुराको पक्षमा, जनताको हक हितको पक्षमा दृढतापूर्वक उभिँदै आयो । हिजो सत्तामा नभएको बेलामा, प्रतिकूल अवस्थामा होस् वा सत्तामा पुगेको बेलामा होस् । उसले यो मान्यताबाट आफूलाई कहिल्यै विचलित गराएन । 

मनमोहन अधिकारीले जुन सपना देख्नुभएको थियो, जुन विचार अघि सार्नुभएको थियो, जुन कार्यक्रमहरूलाई अगाडि सार्न खोज्नुभएको थियो, तिनै चिजलाई निरन्तरता दिने कोसिस एमालेले गर्दै आएको छ । एमालेलाई उसको भूमिकाबाट च्युत गराउनको लागि चौतर्फी कोसिस भइरहेको छ । यस्तो बेलामा मनमोहन अधिकारी हाम्रो अगाडि अभिभावक बनेर, प्रेरणाको स्राेत र शीतल छहारी बनेर हाम्रो अगाडि उभिनुभएको छ । हामी हाम्रा अठोट, सङ्कल्प, उद्देश्यमा समर्पित भएर लागि रहनुपर्ने जरुरी छ । 

भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छ । एकातिर दक्षिण, पूर्व, पश्चिम १८ सय किलोमिटर सीमा जोडिएको हाम्रो छिमेकी भारत छ । सिमाना खुला छ । ऊसितका सन्धि, सम्झौताहरू हिजो जुनसुकै कालखण्डमा भएका भए पनि ती अद्यावधिक हुन सकेका छैनन् । ती यथावत् छन् । अर्कोतिर उत्तरतिर हाम्रो चीन छिमेकी मुलुक १४ सय किलोमिटर सीमा जोडिएको मुलुक छ । संयोगले, भाग्यले हिमालको पर्खाल खडा छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले मनमोहन अधिकारी नेपालका कम्युनिस्ट पार्टीहरू भन्दा पनि ज्येष्ठ कम्युनिस्ट भएको बताउनु भयो । मनमोहन अधिकारी कम्युनिस्ट पार्टीहरूको अभिभावक भएको जिकिर गर्नुभयो ।