• १२ वैशाख २०८२, शुक्रबार

सस्कृति संरक्षणमा जुट्दै कुमाल समुदाय

blog

कुमाल समुदायले पाउँदुरे नाच देखाउँदै । फाइल तस्बिर

अमरराज नहर्की
तनहुँ, वैशाख १२ गते ।
यहाँका कुमाल समुदायमा प्रचलित विभिन्न सङ्गीत, नाच,  गीत, भेषभुषा लगायतको लोप हुन थालेपछि संरक्षणका लागि समुदायका अगुवाहरू सक्रिय भएका छन् । कला र संस्कृति संरक्षणका लागि कुमाल समाज नेपालको नेतृत्वमा अभियान सुरु गरिएको हो । उनिहरुको अभियानलाई सामाजिक विकास कार्यालय तनहुँले साथ दिएको छ ।

अभियानअन्तर्गत कुमाल समाज नेपाल जिल्ला कार्य समिति तनहुँको आयोजनामा लोपोन्मुख पाउँदुरे नाच पुस्ताहस्तान्तरण कार्यक्रमम गर्ने निर्णय भएको समाजका तनहुँका अध्यक्ष आलोक कुमालले जानकारी दिनुभयो । इन्टरनेटको बढ्दो प्रयोग,  विदेशी फिल्म, आयातित गीत तथा सङ्गीतले समुदायका मौलिक परम्पार लोप हुँदै जान लागेकोले संरक्षण अभियान सुरु गरिएको कुमाल बताउनुहुन्छ ।

अहिलेका अधिकांश युवाले पाउँदुरे नृत्य नजान्ने हुँदा कुमाल समुदायमा हराउन थालेकाले संरक्षण गर्न पुस्ता हस्तान्तरण कार्यक्रम गर्ने निर्णय भएको कुमाल बताउनुहुन्छ बताउनुभयो । कुमालका अनुसार  भानु, व्यास, शुक्लागण्डकी, भीमाद नगरपालिका र घिरिङ गाउँपालिकामा कुमाल समुदायको बसोवास छ । जिल्लाभर आठ हजार ७२७ जनसङ्ख्या छ । पाउदुरे, हेम्फाई, घाँटु, झ्याउरे, कौराहा आदि मौलिक संस्कृतिले भरिपूर्ण भएको कुमाल समुदायको मौलिक संस्कृति लोप हुने अवस्थामा पुगेकाले संरक्षणमा जुटिएको हो ।

संस्कृति संरक्षण अभियानअन्तर्गत पाउदुरे नाचको पुस्ता हस्तान्तरण गर्न लागिएको उहाँको भनाइ छ । व्यास नगरपालिका–९ कलेस्तीस्थित कुमाल गाउँमा आगामी वैशाख १५ देखि २१ गते पाउदुरे नाच पुस्ता हस्तान्तरण कार्यक्रम राखिएको र यसले समुदायमा उत्साह जगाएको व्यास नगरपालिका–१० अँधेरीभन्ज्याङ निवासी रिता कुमालले जानकारी दिनुभयो । समाजका अनुसार पाउँदुरेमा रामायण खण्डमा रामको जन्मदेखि वनवाससम्मको गतिविधिलाई गीतको माध्यमबाट गाउने गरिन्छ र गीतकै पारामा बिजाबारे र मारुनीले नाच्ने गरिन्छ । यसैगरी, कृष्ण चरित्र खण्डमा कृष्णका बारेमा गाइने गरिन्छ । कुमाल समुदायको मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यले मद्दत गरिएको सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विदुरहरि आचार्यले जानकारी दिनुभयो ।  

एक हप्ते उक्त पुस्तान्तरण कार्यक्रममा कुमाल समुदायहरूको भाषा, संस्कृति, रितिरिवाज, चाडपर्व, परम्परा, मूल्य, मान्यता आदिको प्रशिक्षण प्रदान गरिने उहाँले जानकारी दिनुभयो । जिल्लाको विभिन्न पालिकामा छरिएर बसोवास गर्ने कुमाल समुदायहरूलाई एउटै थलोमा जम्मा गरेर गरिने उत्त पुस्तान्तरण कार्यक्रममा दलबहादुर कुमालले प्रशिक्षक प्रदान गर्ने समाजले जनाएको छ ।