• ११ वैशाख २०८२, बिहिबार

सडक कालोपत्रे योजना अन्योलमा

blog

जयगढ–रामारोशन सडक । तस्बिर : एकेन्द्र महता

साँफेबगर समाचारदाता

अछाम, वैशाख ११ गते । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रामारोशन क्षेत्र जोड्ने जयगढ–रामरोशन सडकखण्डको कालोपत्रे योजना दुई वर्षदेखि ठप्प छ । निर्माण ठप्प हुँदा स्थानीयवासी र पर्यटक दुवैले सास्ती भोगिरहेका छन् । 

बान्नीगढी जयगढ गाउँपालिका अन्तर्गत पर्ने जयगढ बजारदेखि दर्नासम्मको करिब १२.५ किलोमिटर सडक कालोपत्रे गर्न पूर्वाधार विकास कार्यालय अछामले २०७६ कात्तिक १९ गते वज्रगुरु कन्स्ट्रक्सनसँग २४ करोड ७७ लाख ९० हजार ३६९ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार काम २०७९ असार १७ भित्र सम्पन्न भइसक्नुपर्ने थियो तर पटक पटक म्याद थपिँदा पनि अहिलेसम्म कालोपत्रे सुरु भएको छैन । 

पूर्वाधार विकास कार्यालय साँफेबगरका अनुसार हालसम्म योजना अन्तर्गत ८० प्रतिशत भौतिक कार्य पूरा भइसकेको र सोही अनुसारको भुक्तानी पनि सम्पन्न भइसकेको छ तर मुख्य काम कालोपत्रे नै सुरु नभएकाले आयोजना अधुरो बनेको हो ।

कार्यालय प्रमुख जङ्गबहादुर थापाका अनुसार “कम्पनीलाई पटक पटक ताकिता गरिएको भए पनि कुनै सुनुवाइ भएको छैन । अब आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।”

योजनाको ठेक्का लिएको वज्रगुरु कन्स्ट्रक्सन हाल सम्पर्कविहीन जस्तै छ । प्रमुख प्रतिनिधिको फोन नउठ्ने, सम्पर्क गर्न नसकिने गुनासो स्थानीय तह र कार्यालय दुवैको रहेको छ । सडक निर्माणमा ढिलाइ हुँदा रामारोशन क्षेत्रको पर्यटन प्रवर्धनमा समेत प्रतिकूल असर परेको छ ।