काठमाडौँ, वैशाख ९ गते । ब्राजिलका विश्व चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल भ्रमणमा आउनुभएको छ । ५१ वर्षीय कार्लोस काठमाडौँमा जारी नेपाल सुपर लिग (एन्एसएल) हेर्नका लागि मङ्गलबार नेपाल आउनुभएको हो ।
कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनएसएल आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट टोलीका पदाधिकारीले स्वागत गरेका थिए । कार्लोसले बुधबार साँझ हुने धनगढी एफसी र पोखरा थन्डर्सबिचको दोस्रो क्वालिफायर खेल हेर्ने कार्यक्रम रहेको छ ।
कार्लोसले हिमालयको देश नेपाल आउन पाउँदा खुशी लागेको बताउनुभयो । कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिल राष्ट्रिय टोलीका लागि फुटबल खेल्नुभएको थियो ।
उहाँको उत्कृष्ट प्रदर्शनमा ब्राजिलले सन् २००२ को फिफा विश्वकप उपाधि जितेको थियो । कार्लोसले राष्ट्रिय टोलीका लागि एक सय २५ खेल खेल्दै १० गोल गर्नुभएको छ ।
यस्तै उहाँले स्पेनिस क्लब रियाल म्यड्रिडबाट लामो समय ब्यवसायिक फुटबल खेल्नुभयो । उहाँले पछिल्लो समय सन् २०१६ मा दिल्ली डायनामोबाट इन्डियन सुपर लिग समेत खेल्नुभएको थियो ।