दोलखा समाचारदाता
दोलखा, वैशाख ९ गते । जिल्लाकै जेठो दोलखाको भीम पुस्तकालयको सञ्चालन कोष स्थापना भएको छ । भवन पुनर्निर्माण भई २० वर्षपछि सञ्चालनमा आएको पुस्तकालयको पहिलो चरणमै दुई लाख ९६ हजार रुपियाँ कोष जम्मा भएको भीमेश्वर नगरपालिका–२ का अध्यक्ष स्टालिन श्रेष्ठले जानकारी दिनुभयो ।
सञ्चालनका लागि व्यवस्थापन समिति गठन भएको छ । समितिले पुस्तकालयको प्रमाणपत्र तथा अभिलेख खोजेर सबै वस्तुको व्यवस्थापन गरेको छ । कोषमा रकम थप गर्ने क्रम जारी रहेको छ ।
कोषमा आजीवन सदस्य ११ जनाबाट ५५ हजार, साधारण सदस्य एक जनाबाट एक हजार, स्थानीय एवं समाजसेवी इन्जिनियर आत्मकृष्ण श्रेष्ठबाट एक लाख १० हजार, स्थानीय रोचक प्रधानबाट एक लाख, स्थानीय रमेश चाकुबजी, श्यामचन्द्र श्रेष्ठ र हेमराज श्रेष्ठबाट १०/१० हजार गरी ३० हजार रुपियाँ सहयोग भएको कोषाध्यक्ष कुमारी जोशीले जानकारी दिनुभयो ।
पुनर्निर्माणका लागि कसैको चासो नरहेकै बेला रूपा फाउन्डेसन काठमाडौँले १५ लाख रुपियाँको लागतमा पुस्तकालय भवन निर्माण सम्पन्न गरिदिएको हो । भवन निर्माण सम्पन्न भएपछि पुस्तकालय सञ्चालनमा आएको छ ।
यस पुस्तकालयमा विगतमा उत्तर कोरिया, जर्मन, चीन, बेइजिङलगायतका मुलुकबाट पत्रिका आउने गरेको थियो । पुस्तकालय सार्दा सार्दा थकित भएपछि स्थानीय ज्ञानकृष्ण श्रेष्ठले दान दिनुभएको जग्गामै भवन बनेको छ ।
जग्गादाता ज्ञानकृष्ण श्रेष्ठ, भरतबहादुर श्रेष्ठ, आत्माकृष्ण श्रेष्ठसमेतको पूर्ण सहयोग हुँदासम्म पुस्तकालय राम्रोसँग सञ्चालनमा आएको थियो ।