• ९ वैशाख २०८२, मङ्गलबार

सिद्धार्थ रिभरसाइड रिसोर्ट चारतारे बन्ने

blog

गोरखापत्र समाचारदाता

चितवन, वैशाख ९ गते  । सिद्धार्थ ग्रुप अन्तर्गतको सिद्धार्थ हस्पिटालिटीले चितवनको चुम्लिङ्टारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चारतारे स्तरीय रिसोर्टमा स्तरोन्नति गर्ने भएको छ । सिद्धार्थ बाटिका ब्रान्डमा सञ्चालन भइरहेको रिसोर्टलाई स्तरोन्नति गरी सिद्धार्थ बैभव ब्रान्डमा सञ्चालनको तयारी भइरहेको सिद्धार्थ हस्पिटालिटीका बोर्ड सदस्य किरण रिमालले जानकारी दिनुभयो । 

रिसोर्ट स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको र आगामी असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो । हाल कायम रहेका २६ वटा कोठा र ५६ वटा बेडबाट ६४ वटा कोठा र ९९ बेड सङ्ख्या पुग्ने छ । साथै आउटडोर र इनडोर ज्याकुजीसहितको प्रेसिडेन्ट रुमको पनि सुविधा थप हुने उहाँको भनाइ छ । 

रिमालका अनुसार स्तरोन्नतिपछि सुन्दर फराकिलो बगैँचा, स्विमिङ पुल, छुट्टै खेल मैदान, रिसोर्टभित्रै ग्रोसरी पसल र प्रत्येक शुक्रबार गुरुङ र मगर संस्कृतिको प्रवर्धन हुने गरी सांस्कृतिक नृत्य प्रस्तुत गर्ने तयारी छ ।