• ९ वैशाख २०८२, मङ्गलबार

खरीखानीले गाउँमै रोजगारी

blog

दुहुँ गाउँपालिका–५ स्थित नौमुणेमा उत्खनन गरिएको खरीखानी । तस्बिर सौजन्य : डा. सुरजप्रसाद भट्ट

खलङ्गा समाचारदाता 

दार्चुला, वैशाख ९ गते । आठ वर्षदेखि दार्चुलाको खरी छिमेकी भारत निर्यात हुँदै आएको छ । दार्चुला जिल्लाको उत्तरमा पर्ने दुहुँ गाउँपालिका–५ को नौमुणे क्षेत्रबाट निकालिएको खरी दार्चुलाको खलङ्गा नाकाबाट भारतको हल्द्धानी निर्यात भइरहेको दार्चुला भन्सार कार्यालयका प्रमुख सुदीप मानन्धरले जानकारी दिनुभयो । 

नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खानी तथा भूगर्भ विभागमा कञ्चनपुर जिल्लाको जियो मिनिरल रिर्जब्स प्रालिले आर्थिक वर्ष २०७४/७५ मा खानी दर्ता गरेर सो ठाउँमा उत्खनन गरेर खरी निकाल्न सुरु गरेको हो ।

खानीमा दुहुँ गाउँपालिका–५, गरमोराका स्थानीय दानसिंह महरालगायत १५ जना स्थनीय महिला/पुरुषले रोजगारी पाएका छन् । उहाँहरूलाई प्रालिले दैनिक ७५० रुपियाँ ज्याला उपलब्ध गराउँदै आएको छ । 

विगतका वर्षमा भारतका विभिन्न ठाउँमा गएर मजदुरी गर्ने गरेका महरा खरीखानी सञ्चालनमा आएदेखि गाउँमै काम गरिरहेका छन् । घरनजिकै रोजगारी पाएका उहाँ दैनिक ७५० रुपियाँ पाउँदा खुसी हुनुहुन्छ । 

“स्थानीय दानसिंह महरा भन्नुहुन्छ, गाउँघरमै रोजगारी पाएका छौँ, खुसी छौँ,” उहाँ र उहाँसंगै काम गर्ने मजदुरले खरीखानबाट खरी निकाल्ने काम गर्ने गरेको प्रालिका सञ्चालक डा. सुरजप्रसाद भट्टले जानकारी दिनुभयो । विकट जिल्लाको विकट बस्तीमा खानी खोलेर स्थानीयलाई रोजगारी दिन पाउँदा आफूलाई समेत खुसीको अनुभूति हुने गरेको उहाँ बताउनुहुन्छ । दानसिंह महरासँगै दुहुँ गाउँपालिका–५ का अन्य १३/१४ जना खरीखानीमा काम गर्दै आएका छन् । 

स्थानीयले मात्रै नभएर जिल्ला बाहिरका नागरिकले पनि खानीबाट प्रत्यक्ष रूपमा रोजगारी पाइरहेको बताइएको छ । खानीबाट जिल्ला सदरमुकाम खलङ्गासम्म खरी ढुवानी गर्न १७ वटा ट्याक्टर प्रयोग भइरहेको प्रालिका सञ्चालक डा. भट्टले बताउनुभयो । ट्याक्टरचालक, स्थानीय नागरिक र व्यापारीले प्रत्यक्ष रोजगारी पाइरहेको उहाँको दाबी छ । 

खानीमा संलग्न कामदारले वर्षमा आठ महिना रोजगारी पाइरहेका छन् । वर्षायामको चार महिना असार, साउन, भदौ र असोजमा काम बन्द हुने तथा बाँकी आठ महिना काम चल्ने गरेको छ । 

यति मात्रै नभई जग्गाधनीसँगको विवादका कारण बेला बेला काम बन्द हुने समस्या रहेको उहाँले बताउनुभयो । सरकारले खनिज पदार्थ भएको जमिनलाई बिना कुनै रोकटोक काम गर्ने कम्पनीलाई उपलब्ध गराउन सक्नुपर्नेमा उहाँको जोड छ । दुहुँ गाउँपालिका–५, नौमुणेको ५.८७ वर्ग किलोमिटर जमिन लिजमा लिएर खरी निकाल्ने काम भइरहेको छ । 

जियो मिनिरल रिर्जब्स प्रालिले आव २०७४/७५ देखि हालसम्म तीन हजार ८३८ टन खरी भारत निर्यात गरेको दार्चुला भन्सार कार्यालयको तथ्याङ्क छ । खरी निर्यातबापत भन्सार कार्यालयले ५७ लाख ५७ हजार रुपियाँ राजस्व सङ्कलन गरी सरकारलाई बुझाइएको छ ।