काठमाडौँ, वैशाख ८ गते । प्रहरीले विभिन्न व्यक्तिलाई फरक–फरक परिचय दिइ ठगी गर्ने ४० वर्षीया जानकी न्यौपानेलाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार न्यौपानेले फरक फरक परिचय दिने गरेको र आफू कानुन मन्त्रालयको उपसचिव हुँ, हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छु भनी विमानस्थलको विभिन्न शीर्षकको ठेक्का मिलाइदिने प्रयोजनका लागि सात लाख ६० हजार आठ सय रुपियाँ ठगी गरेकी छिन् ।
स्थायी घर दैलेखको दुनेचौर गाउँपालिका वडा नं. ५ का न्यौपाने हाल ललितपुर महानगरपालिका वडा नं. २५ मा बस्दै आएको प्रहरीले जानकारी दिएको छ ।
निजले राजस्व र धरौटी रकम स्वरूप उक्त रकम लिइसकेको र बाँकी रकम माग्दै गरेको अवस्थामा काठमाडौँ महानगरपालिका वडा नं. ११ त्रिपुरेश्वरबाट पक्राउ गरी ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।