• ८ वैशाख २०८२, सोमबार

खेलकुद विकास समिति १४ महिनादेखि प्रमुख र कर्मचारीविहीन

blog

खेलकुद विकास समिति गुल्मीको कार्यालय । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, वैशाख ८ गते ।
खेलकुदप्रति धेरैको आशा छ । नेपालमा पनि खेल क्षेत्रमा थुप्रै संभावना छन् । तर राज्यबाटै खेलकुदको विकासमा उर्जा छैन । पछिल्लो उदाहरण हो, जिल्ला खेलकुद विकास समिति गुल्मी । जहाँ कार्यालय प्रमुखविहीन भएका एक वर्षभन्दा बढि भयो । समितिको तथ्याङ्क अनुसार २०५३ सालदेखि कार्यालय प्रमुखहरु आएका देखिन्छन् । २०७५ सालबाट कार्यालय प्रमुखको रुपमा रहनुभएका डिल्ली विक २०८० माघमा सरुवा हुनुभयो । अहिले विकास समितिमा कर्मचारीमा रुपमा विकास समितिले नियुक्त गरेका कार्यालय सहयोगी मात्रै छन् । गत वर्षपछि कार्यालय प्रमुख विक सरुवा भएपछि जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड चल्यो ।

खेलकुद विकास समितिका पदाधिकारीलेनै सहभागीहरु र अतिथीलाई पत्र काट्ने र दर्ता चलानीसम्मको काम गर्नुभयो । खेलकुद विकास समितिका अध्यक्ष गिरीप्रसाद महाकिमले समितिले मात्रै कार्यालयका कार्यसम्पादन गर्न नसक्ने भएकाले खेलकुदको बेला एक महिना अस्थायी कर्मचारी राखेर खेलको व्यावस्थापन गर्ने अवस्था आएको बताउनुभयो । खेलकुद विकास समितिमा अहिलेसम्म लेखा अधिकृत, कम्प्युटर अपरेटर र प्रशिक्षकहरु एक जना पनि कार्यालयमा छैनन् । समग्र जिल्लाको खेलकुद विकासको क्षेत्रमा काम गर्ने विकास समिति वर्षौसम्म समय एक्लो कार्यालय प्रमुखको भरमा रहेपनि जनशक्तिको व्यावस्थापन हुन सकेन् । कार्यालय प्रमुखले लेखाको कामसँगै पत्र लेख्ने, दर्ता चलानी गर्ने र पत्र पुराउने समेतको काम गर्नुपर्ने बाध्यता थियो ।

आफुहरुले काम चलाउ रुपमा कार्यालय सहयोगीलाई तलब खुवाउने बाहेक करिव एक वर्षदेखि आर्थिक तथा प्रशासनिक कुनै काम गर्न नसकिएको अध्यक्ष महाकिमले बताउनुभयो । कार्यालय प्रमुख र प्रशिक्षकका विषयमा राष्ट्रिय खेलकुद परिषदमा जानकारी गराए पनि कुनै टुङ्गो नभएको महाकिमले बताउनुभयो । जिल्ला खेलकुद विकास समितिमा कर्मचारी मात्रै नभएर कुनै पनि खेलका सरकारी प्रशिक्षक छैनन् ।

महाकिमका अनुसार तेक्वान्दो, कराँते, भलिवल, एथ्लेटिक्स, बक्सिङ्ग, उस्सु लगायतका प्रशिक्षक हुनुपर्ने भए पनि स्वयसेवकहरुले प्रशिक्षण दिइरहेका छन् । खेलकुद विकास समिति सरकार परिवर्तनसँगै फेरिने समस्या छ । अहिले पनि आफुहरुको कार्यकाल छँदै हटाइएको भए पनि अदालतका कारण पर्खेर बसिरहेको महाकिमले बताउनुभयो । उहाँले अहिले बजेट नभएका कारण जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीता पनि नभएको बताउनुभयो ।  जिल्लामा खेलकुद क्षेत्रको विकास र समृद्धिमा काम गर्ने प्रमुख संस्थानै जनशक्ति र प्रशिक्षकविहीन  हुँदा खेलाडीहरुमा निराशा छाएको जिल्ला भलिवल संघ गुल्मीका महासचिव नारायण आचार्यले बताउनुभयो । 

वर्षेनी हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीतामा जिल्लाभरका सयौं खेलाडी सदरमुकाम तम्घासमा प्रतिस्पर्धा गर्थे । तर यो वर्ष बजेट अभावका कारण देखाउँदै जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड भएन् । जसले सयौं खेलाडीहरुको एउटा प्रतिस्प्रर्धाको माध्यम बन्द भएको छ । धेरै पटक जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड बिजेता मुसिकोट नगरपालिकाले जितेको छ । पालिकाले आफ्नै स्रोतबाट समयमै पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड गरेर जिल्लाको प्रतिक्षामा थियो । तर अन्ततः जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीता नहुने खबरले निकै दुःख लागेको मुसिकोट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप क्षेत्रीले बताउनुभयो । ‘‘कैयौं खेलाडीहरु खेलका लागि उत्सुक र प्रतिस्पर्धाका लागि तयार थिए । देशको पहिचान दिने खेल बजेटका कारण रोकिनु बिडम्बना हो,’’ उहाँले भन्नुभयो, ‘‘खेलाडी निराशा बनाउने अवस्था आउनु हुँदैन् ।’’