• ८ वैशाख २०८२, सोमबार

सञ्चार नीति बनाउँदै कोहलपुर

blog

सञ्चारकर्मीहरूसँगको छलफल तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, वैशाख ८ गते । बाँकेको कोहलपुर नगरपालिकाले आमसञ्चार नीति बनाउने भएको छ । सञ्चार नीति बनाउनका लागि नगरपालिकाले अहिले सरोकारवाला पक्षहरूसँग सल्लाह सुझाव सङ्कलन गर्ने काम सुरु गरेको हो ।

नगरपालिकाले एउटा सञ्चार मस्यौदासमेत तयार पारिसकेको छ । मस्यौदामाथि छलफलका लागि सोमबार कोहलपुरमा एक कार्यक्रम आयोजना गरेर सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सञ्चार नीति बनाउनका लागि नेपाल पत्रकार महासङ्घ बाँके शाखाका अध्यक्ष नवीन गिरीको संयोजकत्वमा तीन सदस्यीय मस्यौदा तयार समितिसमेत बनाएको नगरपालिकाले जनाएको छ । अध्यक्ष गिरीको संयोजकत्वमा कोहलपुर नगरपालिकाका रोजगार शाखा प्रमुख आशिष वर्मा र प्रेस संयोजक प्रीयास्मृति ढकाल समितिमा सदस्य रहेका छन् । उक्त समितिले तयार पारेको मस्यौदामाथि सोमबार छलफल तथा अन्तर्क्रिया गरिएको हो ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरबाट सञ्चालन हुने सबै पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यमहरूलाई दीर्घकालीन रूपमा अगाडि बढाउने उद्देश्यले नीति आवश्यक पर्ने भएकाले कोहलपुरले आमसञ्चार नीति बनाउन लागेको बताउनुभयो ।

“कोहलपुरबाट सञ्चालन तथा प्रकाशन हुने सबै सञ्चारमाध्यमलाई दिगो तथा दीर्घकालीन रूपमा अगाडि बढाउनका लागि एउटा नीति चाहिन्छ, नीति निर्माणका लागि मस्यौदा समितिसमेत बनाएर मस्यौदा तयार भइसकेको छ ।” नगर प्रमुख आचार्यले भन्नुभयो, “स्थानीय रूपमा सञ्चालन हुने सबै सञ्चारमाध्यमलाई नगरपालिकाले पनि सहयोग गर्नुपर्छ भन्ने उद्देश्य हो, सोही अनुरूप अहिले सबै सरोकारवाला पक्षसँग छलफल तथा सल्लाह, सुझाव लिने काम गरिरहेका छौँ ।”

उहाँले नीति निर्माण कार्य अहिले नै अन्तिम नभएको भन्दै छलफलका क्रममा रहेकाले सबैले आवश्यक सल्लाह र सुझाव दिन आग्रह गर्नुभयो । “नीति निर्माण भएपछि तपाईँहरूकै लागि बन्ने हो, यो अन्तिम होइन, छलफलकै क्रममा छौँ, आवश्यक सल्लाह र सुझाव दिनुहोला ।” नगर प्रमुख आचार्यले भन्नुभयो, “तपाईँ सबैको सुझाव आइसकेपछि कार्यपालिकामा लैजाने र नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने हाम्रो योजना छ ।”

कार्यक्रममा कोहलपुर नगर उपप्रमुख सङ्गीता सुवेदीले पत्रकारहरूले दिएको सल्लाह, सुझावका आधारमा ड्राफ्ट तयार पारी कार्यपालिकामा पेस गरिने हुँदा कार्यपालिकामा पेस गर्नुअघि आवश्यक सल्लाह र सुझावको अपेक्षा गरिएको बताउनुभयो । उहाँले सञ्चार नीतिलाई अन्तिम रूप दिनका लागि फेरि पनि सरोकारवाला पक्षसँग छलफल गरिने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाकी विधायन समिति संयोजक सुनिता सुनार, मस्यौदा समितिका संयोजक तथा पत्रकार महासङ्घ बाँके अध्यक्ष नवीन गिरी, सदस्यहरु आशिष वर्मा र प्रीयास्मृति ढकालले मस्यौदाका बारेमा जानकारी दिनुभएको थियो । 

सहभागी पत्रकारहरूले मस्यौदामाथि व्यापक रूपमा छलफल गर्नुभएको थियो । कोहलपुर नगरपालिकले आमसञ्चार नीति ल्याउन थालेकोमा खुसी व्यक्त गर्दै उहाँहरूले विभिन्न सल्लाह तथा सुझाव प्रदान गर्नुभएको थियो । दिइएका सल्लाह र सुझाव समेटेर सञ्चार नीति बनाउनुपर्नेमा उहाँहरूको जोड थियो ।