• ८ वैशाख २०८२, सोमबार

सडक पुल र बस्ती संरक्षणका लागि तटबन्धन निर्माण सुरु

blog

गलेश्वरस्थित पक्की मोटरेबल पुल र बस्ती संरक्षणका लागि तटबन्धन निर्माण गरिँदै । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, वैशाख ८ गते । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक आयोजनाले सडक पुल र बस्ती संरक्षणका लागि रघुगङ्गा नदीमा पक्की तटबन्धन निर्माण सुरु गरेको छ। रघुगङ्गा नदीको कटानका कारण बेनी–जोमसोम सडक अन्तर्गत गलेश्वरमा निर्माण गरिएको पक्की मोटरेबल पुल जोखिममा परेपछि आयोजनाले संरक्षणका लागि तटबन्धन निर्माण थालेको हो । 

बेनी–जोमसोम सडक अन्तर्गत बेनी नगरपालिका ९ गलेश्वरस्थित रघुगङ्गा नदीमा निर्माण गरिएको पक्की मोटरेबल पुल र बस्ती संरक्षणका लागि योजना सञ्चालन गरिएको आयोजनाले जनाएको छ । रघुगङ्गा नदीको कटानबाट पुल, सडक र बस्ती जोगाउन चार करोड ७२ लाख ३७ हजार ४ सय ६४ रुपियाँ लागतमा तटबन्धन निर्माण थालिएको आयोजनाका सब-इन्जिनियर सोहनजङ्ग कार्कीले बताउनुभयो । 

योजना कार्यान्वयनका लागि आयोजनाले गत फागुन १३ गते महाप्रभु विआरटी साय जेभीसँग आगामी असार मसान्त भित्रमा निर्माण सम्पन्न गर्नेगरी तीन करोड ३९ लाख ८६ हजार ८ सय २३ रुपियाँमा ठेक्का सम्झौता गरी तटबन्धन निर्माण थालिएको सब इन्जिनियर कार्कीले बताउनुभयो । 

उहाँका अनुसार रघुगङ्गा नदी किनारमा पुल पारी ५० मिटर र वारी गलेश्वर तर्फ ८५ मिटर गरी एक सय ३५ मिटर कम्पोजिट पर्खाल निर्माण गरिने छ । पर्खाल निर्माण भएपछि मोटरेबल पुल र पुलवारीको बस्ती नदी कटानबाट संरक्षण हुने आयोजनाले जनाएको छ । 

यसैगरी योजना अन्तर्गत नै बेनी–गलेश्वर सडक अन्तर्गत जलेश्वर र बैसरीमा नदी कटानबाट सडकलाई जोगाउन तटबन्धन निर्माण गरिने आयोजनाले जनाएको छ ।