• ८ वैशाख २०८२, सोमबार

हिमाली संवादको तयारी पूरा

blog

हिमाली संवादकाे ब्यानर । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, वैशाख ८ गते । जलवायु परिवर्तनका असरले पारेको प्रभावका विषयमा छलफल गर्न आयोजना गरिएको हिमाली संवादको तयारी पूरा भएको छ । नेपाल सरकारको मिति २०८१ साल माघ ७ गतेको निर्णय अनुसार मिति २०८२ साल ज्येष्ठ २ गतेदेखि ४ गतेसम्म सगरमाथा संवाद कार्यक्रम आयोजना गर्ने निर्णय अनुसार हिमालका समस्यालाई केन्द्रीत गर्न जुम्लामा हिमाली संवादको आयोजना गरिएको छ ।

सरकारको उक्त निर्णयलाई स्वागत गदै सगरमाथा संवाद सचिवालयको समन्वयमा उच्च पर्वतीय क्षेत्रका पछाडि परेका तथा पारिएका वर्ग, विषेशगरी बालबालिका, युवा, महिला दलित, अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वमा समुदायमा जलवायु परिवर्तनले पारेको प्रभाव, उनीहरूको वास्तविक भोगाई, जलवायु सङ्कटलाई सामना गर्न गरिएका स्थानीय प्रयास तथा अभ्यासहरूलाई एकिन गर्न संवाद वैशाख ९ र १० गते हिमाली संवादको आयोजना गरिएको आयोजकले जनाएको छ । संवादको तयारी सबै पूरा भएको छ । 

संवाद आयोजक समितिका प्रमुख कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले संवादले एकिन गरेका हिमाली क्षेत्रका समस्यालाई स्थानीय, प्रादेशिक, सङ्घीय र अन्तर्राष्ट्रिय स्तरमा उठान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा कर्णाली प्रदेशका बालबालिका, युवा, तथा पछाडि परेका समुदायहरूको सहभागिता रहने छ । 

निर्देशक शाहीले जलवायु परिवर्तनका कारण विशेष गरी हिमाली क्षेत्रमा देखिएको वातावरणीय असन्तुलन, हिउँको पग्लने दरमा वृद्धि, जैविक विविधता सङ्कट, तथा स्थानीय बासिन्दाको जीवनशैलीमा परेको प्रतिकुल असरलाई मध्यनजर गर्दै ‘हिमाली संवाद २०८२ जुम्लामा आयोजना गरिएको बताउनुभयो । उहाँले यस संवादको प्रमुख उद्देश्य बालबालिका र हिमाली समुदायको आवाज सगरमाथा संवादमा पुर्‍याउनु रहेको हो भने यहाँका नागरिकलाई जलवायु परिवर्तनका असरबारे चेतना फैलाउनु, स्थानीय अनुभव र समाधानका उपाय आदानप्रदान गर्नु, तथा दीर्घकालीन नीति निर्माणका लागि पैरवी प्रस्तुत गर्नु रहेको बताउनुभयो । 

कार्यक्रममा वातावरण विज्ञ, नीति निर्माता, हिमाली क्षेत्रका समुदाय प्रतिनिधि, पत्रकार, सामाजिक अभियन्ता तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहने छ । हिमाली संवादको आयोजना कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले गरेको छ । 

संवादलाई सम्पन्न गर्न सहयोग गर्ने निकायहरू नेपाल सरकारका विभिन्न निकायहरू, सगरमाथा संवाद, सेभःद चिल्डेन, वल्डभिजन, प्लान नेपाल, लगायत छन् । संवाद मन्त्री, सासंद तथा स्थानीय सरकारका प्रमुखहरूको सहभागिता रहने छ । संवाद होटल काञ्जीरुवामा हुने भने यहाँको सबै तयारी पूरा भएको र अब आगन्तुकलाई स्वागत गर्ने काम भइरहेको आयोजक संस्थाले जनाएको छ ।