प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), वैशाख ८ गते । रौतहटबाट स्रोत नखुलेको दस लाखसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।आइतबार दिउँसो भारत बिहार जिल्ला मोतिहारी थाना कुंडवा चैनपुर ग्राम पञ्चायत खरहा चैनपुर वडा नं. ८ ग्राम मुसहरीयाका २३ वर्षीय राज किशोर ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीको टोलीले मौलापुर नगरपालिका वडा नं.६ पथराबुधरामस्थित सडक खण्डमा विभिन्न सावारी साधन तथा पैदल यात्रीहरू समेतलाई रोकी चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गर्दा ठाकुरलाई पक्राउ गरेको हो ।
बी आर ०५ एसी ९४७७ नं. को मोटरसाइकलमा सवार ठाकुरको मोटरसाइकलको सिट मुनि झोलाभित्र लुकाइछिपाइ राखेको अवस्थामा राखिएको अवस्थामा एक हजारको दरको ६ सय थानका छ लाख र पाँच सय दरको आठ सय थान गरी चार लाख रुपियाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद उक्त रकमको आवश्यक कागजात माग गर्दा स्रोत खुलाउन नसकेपछि सो रकम र मोटरसाइकल चालक ठाकुरलाई नियन्त्रणमा लिइएको थियो । पक्राउ परेका ठाकुरलाई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।