• ८ वैशाख २०८२, सोमबार

छत्रकोटलाई पूर्णखोप सुनिश्चित पालिका घोषणा

blog

गुल्मीको छत्रकोट गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिँदै । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, वैशाख ८ गते ।
गुल्मीको छत्रकोट गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ । यहाँका छ वटै वडामा रहेका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रम अनुसार खोप दिएसँगै गाउँपालिकाकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

गाउँपालिकाका छ वटै वडामा रहेका लक्ष्यित अर्थात १६ देखि ५९ महिनाका ७९५ जना बालबालिकालाई खोप लगाउने कार्य सम्पन्न भएसँगै पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । राष्ट्रिय खोप कार्यक्रम अनुसार १५ महिनाभित्र पूरा गर्नुपर्ने सबै खोप पूरा गरेसँगै पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले जानकारी दिनुभयो ।

त्यसैगरी, छत्रकोट गाउँपालिका अन्तर्गतका बर्थिङ्ग सेन्टर र अस्पतालमा २०८० फागुन १ देखि २०८१ माघ मसान्तसम्म कुल १९७ जना सुत्केरी भएका छन् । सुरक्षित प्रसूति भएको सुनिश्चित भएकाले गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुति सुनिश्चितता तथा दिगोपना समेत घोषणा गरिएको उहाँले बताउनुभयो ।

त्यसअवसरमा गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले पूर्णखोप र पूर्णसंस्थागत प्रसूति सुनिश्चितता तथा दिगोपना घोषणासम्मको अवस्थामा ल्याउन मिहिनेत गर्ने सबैलाई धन्यवाद दिनुभयो । छत्रकोट गाउँपालिका स्वास्थ्य र शिक्षाको क्षेत्रमा जिम्मेवार ढङ्गले अगाडि बढेको उहाँले बताउनुभयो ।