राजु लामिछाने
रुकुमपश्चिम, वैशाख ६ गते । रुकुमपश्चिमको मुसीकोट नगरपालिका –४ स्थित मुसिडाँडामा गेट बनाउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।
मुसिडाँडामा रहेको मन्दिर क्षेत्रमा नयाँ गेट बनाउने क्रममा पुरानो गेट भत्किन गई च्यापिएर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयमा सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार मुसीकोट नगरपालिका –४ थापागाउँ निवासी ५९ वर्षीय खिमबहादुर गिरीको मृत्यु भएको हो ।
शनिबार दिउँसो करिब १ बजे उक्त घटना भएको हो । स्थानीयले गेट भत्किएर गिरीको मृत्यु भएको भनेर सूचना दिए लगत्तै घटनास्थलमा प्रहरी पुगेको छ । प्रहरी निरीक्षक पाठकले गिरीको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । मन्दिरको पश्चिमतर्फको पुरानो गेट भत्किएको हो ।
मुसीकोट नगरपालिकाको सहयोगमा उक्त स्थानमा गेट निर्माणको काम चलिरहेको थियो । मृतक गिरी उक्त योजनाको जिम्मा लिनुभएका स्थानीय बसन्त गिरीको बुवा हुनुहुन्छ ।