• ६ वैशाख २०८२, शनिबार

अदानचुली गाउँपालिकाद्वारा सेवा बन्द

blog

वर्षासँगै आएको पहिरोले क्षति पुर्‍याएको अदानचुली गाउँपालिका । तस्बिरः राजन रावत

राजन रावत
हुम्ला, वैशाख ६ गते ।
दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको सम्पूर्ण सेवा ठप्प भएको छ । गत बिहीबार बिहान परेको अविरल वर्षासहित आएको पहिरो कार्यालयमा पस्दा आवश्यक कागजात र उपकरणमा क्षति पुगेपछि कार्यालयको सम्पूर्ण सेवा बन्द भएको हो ।

वर्षासँगै आएको पहिरो कार्यालयमा पसेपछि कागजात र कम्प्युटरमा क्षेति पुगेका कारण सबै कामहरू शुक्रबार बन्द भएको गाउँपालिकाका अध्यक्ष मोहनबिक्रम सिंहले बताउनुभयो । कार्यालयको तल्लो तलामा रहेको सात वटा फाँटमा पहिरोले क्षति पुर्‍याएका कारण कामकाज रोक्नु परेको उहाँको भनाइ छ । कोठामा पसेको भलबाट सबैभन्दा बढी पञ्जिकरण शाखामा रहेका कम्प्युटरमा क्षेति पुगेका कारण शाखाले सूचना निकालेर सबै काम गर्न नसकिने जनाएको थियो । कम्प्युटर भिजेका कारण काम गर्न नसक्ने अवस्था रहेको शाखाले जनाएको छ ।

कम्प्युटर मर्मतपछि मात्र त्यसले काम गर्ने वा नगर्ने भन्न नसकिने अवस्था रहेको अध्यक्ष सिंहले बताउनुभयो । त्यसैगरीअन्य शाखाका कोठामा पनि भल छिरेर आवश्यक कागजात र सामानहरु भिजेको कारण काम गर्न नसकिने अवस्था रहेको छ । त्यस्तै पहिरोले २५ जनाका घरका कोठा, पसल, जस्तापाताले छापेका टहरामा क्षति पुर्‍याएको थियो भने बाख्रा राखेको गोठमा पस्दा ३२ बाख्रा मरेका थिए । साथै २० बाख्रा अझै पनि बेपता रहेको प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो ।

यसैगरी, अदानचुली गाउँपालिका– २ कै धर्मोदय माध्यामिक विद्यालयका चार वटा भवनमा पस्दा क्षेति पुगेको छ भने विद्यालयको जिन्सी कोठामा पनि क्षति पुगेको छ ।

प्रहरीले विवरण सङ्कलन गर्ने कार्य जारी राखेकाले उक्त घटनाबाट कति क्षति पुगेको छ भन्ने एकिन विवरण आउन सकेको छैन । घटनापछि अदानचुली गाउँपालिकाले एक विज्ञप्ति निकालेर क्षति प्रभावितको उद्धार, राहात र पुनर्निर्माणको कामलाई प्राथमिकता दिने उल्लेख गरेको छ ।