• ६ वैशाख २०८२, शनिबार

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

blog

व्यास नगरपालिका–३ अनशनचौतारीमा बालबालिकालाई भिटामिटन ‘ए’ र जुकाको औषधी खुवाइँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की    
तनहुँ, वैशाख ६ गते ।
प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँद्वारा शनिबारदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइन सुरु गरिएको हो ।

गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ व्यास नगरपालिका–३ स्थित अनशनचौतारीमा जुम्ल्याहा बच्चाहरु निसान पन्थ सूसान पन्थलाई शनिबार बिहान भिटामिन ‘ए’  र जुकाको औषधी खुवाएर कार्यक्रमको सुरुवात गर्नुभयो । सो अवसरमा सांसद श्रेष्ठले कुनै पनि बालबालिकालाई नछुटाउनका लागि यसको महत्त्व प्रचारप्रचारमा व्यापकता दिन जरुरी रहेको बताउनुभयो । १९ हजार सात सय १४ बालबालिकालाई खुवाउने लक्ष्य राखिएको कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत शनिबार र आइतबार सो सङ्ख्यामा खुवाईने उहँले बताउनुभयो । तनहुँ जिल्लामा रहेका १० वटा पालिकामा चार सय ७६ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकामार्फत खुवाउने कार्यक्रम रहेको कार्यालयले जनाएको छ । प्रत्येक टोलमा पुगेर स्वयंसेविकाले खुवाउने काम गरिरहेको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधी विसं २०५६ बाट खुवाउन थालिएको हो ।

सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधी बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ । सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारका लागि २०५० सालमा आठ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागू गरिएको हो । जुका नियन्त्रण तथा रोकथामका लागि २०५६ सालदेखि १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधी खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागू गरिएको छ ।