• ६ वैशाख २०८२, शनिबार

नेपाल ओलम्पिक कमिटी नेतृत्वलाई आइओसीको मान्यता

blog

काठमाडौँ, वैशाख ४ गते । नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनबाट निर्वाचित नयाँ नेतृत्व टोलीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले मान्यता प्रदान गरेको छ ।

आइओसीले बिहीबार एनओसीका नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठलाई पत्र लेख्दै ओलम्पिकको निर्वाचनलाई औपचारिक आधिकारिकता दिएको उल्लेख गरेको हो । गत पुस १३ गते अनलाइनमार्फत गरिएको एनओसीको निर्वाचनबाट जीवनराम तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको थियो । 

आइओसीका एनओसी सम्बन्ध, ओलम्पिक एकता र ओलम्पिज्म ३६५ का निर्देशक समेत रहनुभएका जेम्स म्याक्लोडद्वारा हस्ताक्षरित पत्रमा नवनिर्वाचित एनओसी नेतृत्वलाई समावेशी र एकताबद्ध रूपमा सबै सदस्यहरूसँग सहकार्य गर्न र सम्बन्धित सरकारी निकायहरूसँग ओलम्पिक चार्टर अनुसार पारस्परिक समझदारी, सम्मान र विश्वासका साथ सुमधुर सम्बन्ध पुनर्स्थापित गर्न आग्रह पनि गरिएको छ । 

यसअघि एनओसीको निर्वाचनलाई नेपाल सरकारले अवैधानिक ठहर गरेको थियो । निर्वाचनबाट अध्यक्षमा निर्वाचित एनओसी अध्यक्ष जीवनरामलाई कुवेतस्थित अध्यागमन विभागले हालै डिपोर्ट समेत गर्ने प्रयास गरेको थियो । तर जीवनरामलाई ओलम्पिक कमिटी अफ एसिया (ओसिए) र कुवेत सरकारको पहलमा कुवेतबाट डिपोर्ट हुनबाट रोकिएको थियो ।

नेपाल सरकारले पछिल्लो समय सर्वोच्च अदालतको आदेश, नेपाल सरकारको निर्देशनको अवज्ञा गर्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको स्वीकृति बेगर निर्वाचन सम्पन्न गरेको भन्दै एनओसी पदाधिकारीलाई कारबाही स्वरूप अध्यागमन विभागमा पत्र लेख्दै विदेश जान रोक लगाउनसमेत आदेश दिएको थियो ।

यस्तै सरकारले सातदोबाटोस्थित एनओसी भवनसहितका सरकारी स्रोत–साधन प्रयोग गर्न नदिने भन्दै गेटमा तालासमेत लगाउँदै आएको छ ।