प्रेमराज सिम्खडा
कालीकोट, वैशाख ४ गते । सदरमुकाम मान्म बजारमा जहिले पनि खानेपानीको चरम अभाव हुने गरेको छ । कुनै पनि महिनामा राम्रो संग पिउने पानीको व्यवस्थापन नहुँदा यहाँका स्थानीयवासी आक्रोशित छन् । कुनै पनि महिनामा पानी पाइँदैन, बिल मात्र महिनामा तिर्नु परेको उपभोक्ताको भनाई छ ।
जिल्लाको मुटु मानिने खाँडा चक्र नगरपालिकामा खानेपानीको हाहाकार बढ्दै जाँदा सम्बन्धित निकाय भने मौन बसेको भन्दै नागरिकले गुनासो व्यक्त गरेका छन् । मान्ममा होटेल व्यवसाय गदै आउनुभएका धनबहादुर वटालाले सरकारले नागरिकको समस्या प्रति चासो नदिएको बताउनुभयो ।सरकार छ, सधैँ आफैले देखिरहेको छ बजारको पिउने पानीको समस्या यही कुरा सम्बोधन गर्न तिर चासो छैन के स्थानीय र हाम्रो नजिकको सरकार भनेर खुसी हुनु वटालाले आक्रोश पोख्दै भन्नुभयो । खानेपानीको समस्या दिनानुदिन चर्किँदै गएपछि मान्म बजारमा होटेल व्यवसाय सञ्चालन गर्ने नागरिक प्रत्यक्ष मारमा परेका छन् ।
पानी वितरणमा एकरूपता नहुँदा अभाव झन् गहिरिएको स्थानीय हिक्मतजंग मल्ल भनाई छ । मल्लले जनप्रतिनिधिहरूले नागरिकको समस्याप्रति बेवास्ता गरेको भन्दै आक्रोश प्रकट गर्नुभयो । खानेपानी उपभोक्ता समितिको वितरण प्रणालीमा लापरबाहीले पानीको अभाव भएको हो । धारामा नियमित पानी नआउँदा सदरमुकाममै पिउने पानीको हाहाकार छ,’ मल्लले भन्नुभयो, यति ठुलो समस्या हुँदा पनि कसैको ध्यान गएको छैन ।
स्थानीय कमल शाहीले खाँडा चक्र नगरपालिका–१ को बजार क्षेत्रमा पिउने पानीको सङ्कट गहिरिँदा पहुँचवालाले खानेपानीको ट्याङ्कीबाट सिधै पाइप जडान गरी घरघरमा पानी लगेको खुलासा गर्नुभयो । सर्वसाधारणको धारामा भने हप्तौँसम्म पानी नआएको उहाँको गुनासो छ । खानेपानीको उचित वितरण प्रणाली नहुँदा जिल्लावासीले अभावको मार खेप्नुपरेको छ ।
खानेपानी वितरणको जिम्मा लिएको मान्म खानेपानी उपभोक्ता समिति पनि बेखबर छ । कर्मचारी कहिल्यै पनि समयमा पानीको ट्याङ्की सम्म पुगेको रेकर्ड छैन । मान्म बजारको पश्चिम तरका नागरिकलाई लक्षित गरेर बनाइएको टाङकीमा महिनामा दुई दिन पानी पुग्छ । त्यहाँ भएको पानी पनि सशस्त्र प्रहरी बलको ब्यारेक र जिल्ला कारागारका लागि ठिक्क । स्थानीय सिर्जना शाहीले पिउने पानीको अभाव कुनै दिन र महिनामा नहटेको गुनासो गर्नुभयो । पानी पाइँदैन तर महिनामा एक सय ५० रुपियाँ बिल भने नतिरी भएको छैन ।
बजारको पानी व्यवस्थापनका लागि स्थानीय सरकारले समेत चासो नदिएको सर्वत्र गुनासो छ । मान्ममा मेडिकल सञ्चालन गदै आउनुभएका स्थानीय दिपवहादुर शाहीले आफू मान्म बसेको २० वर्ष भयो । दुई दशक सम्म कुनै पनि दिन पुग्ने गरेर पानी नपाएको सुनाउनुभयो । हामीले कति विरोध, धर्ना प्रशासनसँग गुनासो राखेका छौ । तर कसैबाट पनि पिउने पानीको समस्या समाधान नहुँदा अब आफै एक घण्टा टाढा सम्म गएर मोेटरसाईकलमा पिउनका लागि पानी ल्याउने गरेको शाहीको भनाई छ ।
नगरपालिका प्रमुख कमलबहादुर शाहीले भने नयाँ योजना सम्पन्न हुँदा पनि पिउने पानीको अभाव हुनु मुहानकै समस्या भएको बताउनुभयो ।