• ६ वैशाख २०८२, शनिबार

पहिरोपीडितको पुनर्वास प्रक्रिया सुरु

blog

तस्बिर :साहारा लिम्बू निर्माणाधीन मदन भण्डारी रङ्गशालामा मौवाखोला गाउँपालिकाद्वारा निर्मित अस्थायी एकीकृत आवास स्थल ।

फुङ्लिङ समाचारदाता 

फुङ्लिङ, वैशाख ४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरोपीडित परिवारलाई स्थायी पुनर्वासका लागि प्रव्रिmया अगाडि बढाइएको छ । करिब १८ महिनाअघिदेखि अस्थायी टहरामा बसोवास गर्दै आइरहेका ६५ परिवारका लागि गाउँपालिकाले स्थायी पुनर्वासको पहल सुरु गरेको हो ।

स्थायी एकीकृत आवास केन्द्र निर्माण गर्न पालिकाको ३ नम्बर वडा लुकुवामा करिब ७० रोपनी जग्गाको टुङ्गो लगाइएको प्रवक्ता चन्द्र तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सो जग्गाको माटो परीक्षणका लागि पठाइएको छ । रिपोर्ट प्राप्त हुनासाथ जग्गा प्राप्तिका लागि थप प्रक्रिया अघि बढाइने प्रवक्ता तामाङको भनाइ छ । पीडितलाई प्रतिपरिवार एक/एक रोपनी जग्गा प्रदान गरिने गाउँपालिकाले जनाएको छ । बाँकी रहेको पाँच रोपनी जग्गामा गुम्बालगायतका संरचना बनाउने योजना पालिकाको रहेको छ । प्रतिरोपनी तीन लाख ५० हजार रुपियाँमा जग्गा टुङ्गो लागेको र चालु आर्थिक वर्षभित्रै पीडित परिवारको नाममा पास गर्ने बताइएको छ । घर निर्माणको कार्य भने आगामी आवबाट मात्रै सुरु गर्ने पालिकाले जनाएको छ । घर निर्माणका लागि प्रतिपरिवार पाँच/पाँच लाख रुपियाँको दरले पीडित परिवारले पाउने छन् ।

पालिकाको ४ नम्बर वडा साँघु ओदक टोलका ६२ परिवार, तामाङ टोलका दुई र वडा नं ३ का एक गरी ६५ परिवारले हाल अस्थायी टहरामै जीवनयापन गरिरहेका छन् । विसं २०८० सालको असारमा गएको पहिरोले बस्ती नै जोखिममा परेपछि पालिकाले निर्माणाधीन मदन भण्डारी रङ्गशालामा अस्थायी टहरा निर्माण गरी बसोवासको व्यवस्थापन गरेको छ ।

निर्माणका लागि श्रमदानसहित एक करोड ५० लाख ५३ हजार ७८७ रुपियाँ खर्च भएको बताइएको छ । विभिन्न सरकारी तथा गैरसरकारी निकाय, व्यक्ति तथा संस्थाबाट ५५ लाख ९२ हजार ७७० रुपियाँ सहयोग प्राप्त भएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको २६ लाख ६० हजार १७ रुपियाँ र ६८ लाख एक हजार रुपियाँ बराबरको श्रमदान गरिएको थियो ।