• ६ वैशाख २०८२, शनिबार

घट्दै कोदो उत्पादनको क्षेत्रफल

blog

तम्घास समाचारदाता

तम्घास, वैशाख ४ गते  । गुल्मीमा कोदो उत्पादनको क्षेत्रफल घट्दै गएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । जिल्लामा यस वर्ष दुई हजार ८३४ हेक्टर क्षेत्रफलमा तीन हजार ५७० मेट्रिक टन उत्पादन भएको कृषि प्रसार अधिकृत शिवप्रसाद बन्जाडेले जानकारी दिनुभयो । 

गत आर्थिक वर्ष २०८०/८१ मा दुई हजार ८८३ हेक्टर क्षेत्रफलमा तीन हजार ६९० मेट्रिक टन कोदो उत्पादन भएको थियो । गाउँमा बसाइँसराइ, युवा जनशक्ति विदेश पलायन र कोदो खेती अन्य खेतीभन्दा झन्झटिलो भएकाले कृषकको आकर्षण घट्दै गएको उहाँले बताउनुभयो । 

बिउ छर्ने बेला पानी नपरी खडेरी पर्नु तथा बिउ कम उम्रनुका साथै कोदो रोगसमेत (छिर्केमिर्के) देखिनुले कोदो उत्पादन कम भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । 

जिल्लामा ओख्ले–१, डल्ले–१ र स्थानीय जातको कोदो यहाँका कृषकले लगाउने गरेका छन् । जिल्लाका इस्मा, मदाने, मालिका, धुर्कोट, कालीगण्डकी, चन्द्रकोट मुख्य पकेट क्षेत्रहरू रहेका छन् । 

परम्परागत रूपमा खास गरी ढिँडो, रोटी र मदिरा बनाउन प्रयोग हुने कोदो सहरबाहिर ग्रामीण भेगमा भने कडा परिश्रम गर्ने श्रमजीवीको पहिलो रोजाइको खाना हो ।

कोदो बाली लगाउने र स्याहार्ने समयमा कृषकलाई झन्झटिलो र लागत बढी लाग्ने गरेकाले कोदो खेती घट्दै गएको छ ।  संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरे अनुरूप नेपालले २०७९ पुस १७ गते उक्त कार्यक्रमको शुभारम्भ गरेको थियो । कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महत्त्वपूर्ण खाद्यान्न बाली हो । पोषण र स्वास्थ्यका हिसाबले लाभकारी कोदो प्रतिकूल र परिवर्तनशील मौसमी परिस्थितिमा पनि खेतीका लागि उपयुक्त बाली हो । यसको खेती पहाडी तथा सिँचाइको सुविधा नभएका क्षेत्रमा धेरै हुने गर्छ ।