नागेन्द्रकुमार कर्ण
महोत्तरी, वैशाख ३ गते। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा विकासको लहर हुनुपर्नेमा भ्रष्टाचार बढ्दै गएको आरोप लगाउनुभएको छ।
उहाँले हाम्रो पार्टीको समर्थन समेत रहे रोजगारी सिर्जना नहुनु, भ्रष्टाचार बढ्दै जानु, सुशासन कायम गर्न नसक्नाले जनतामा निराशा बढ्दै गएको बताउनुहुँदै सरकार असफल हुँदै गएको आरोप लगाउनुभयो।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आयोजित एकताको प्रथम जिल्ला अधिवेशनमा प्रमुख अतिथीको रूपमा बोल्नुहुदै उहाँले देशमा राजनीतिक परिवर्तन भएपनि आर्थिक र सामाजिक परिवर्तन हुन नसकेको बताउनुहुँदै सरकारले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
सरकारलाई हाम्रो पार्टीले सुशासन कायम गर्न, भ्रष्टाचार रोक्न, संविधान संशोधन गर्न लगायतका म्यान्डेडसहित समर्थन गरेपनि कुनै पनि बुँदा पुरा नभएको बताउनुहुँदै सरकार मधेशसँगको विभेद कायमै राखेको आरोप लगाउनुभयो।
उहाँले मधेशको जनसङ्ख्या ५४ प्रतिशत रहे पनि सरकारले १२ प्रतिशत बजेट दिएर भिख दिए जस्तो गरेको बताउनुहुँदै अन्तर्राष्ट्रिय जगतले समेत देशको अवस्था हेर्दै सहयोग कटौती गरिरहेको बताउनुभयो।
सुशासन कायम नहुँदा र भ्रष्टाचार बढ्दै गएको कारणले अन्तर्राष्ट्रिय जगतले समेत दिँदै आएको विकास रकम तथा अनुदान कटौती गर्दै आएको बताउनुहुँदै उहाँले नेतृत्व वर्ग राम्रो भयो भने मात्रै देशमा सुशासन कायम गर्न सकिने बताउनुभयो। पार्टीलाई एउटा गाडीको संज्ञा दिनुहुँदै उहाँले कुशल चालक मात्रै नभई पार्टपुर्जा (पार्टीका पदाधिकारी) समेत दुरुस्त भए लक्ष्यमा पुग्न सकिने भएकोले पार्टीलाई एक ढिक्का बनाएर लग्न सबैमा आग्रह गर्नुभयो।
पार्टीका जिल्ला अध्यक्ष रामप्रगास यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा केन्द्रीय पदाधिकारी तथा विभिन्न पार्टीका अध्यक्ष तथा प्रतिनिधिले शुभकामना मन्तव्य राख्नुभएको थियो।
दुई दिनसम्म चल्ने अधिवेशनमा रामप्रगास यादवसहित रामनरेश राय, मोजिम राइन, युसुफ साफी तथा राजनारायण यादव अहिलेसम्म अध्यक्ष पदको आकाङ्क्षी देखिएका छन्।