काठमाडौँ, वैशाख ३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्यसम्बन्धी सबै विवरण भएको प्रणाली लागु गर्ने तयारी गरेको छ ।
सबै विद्युतीय चिकित्सा विवरण एउटै प्रणालीमा ल्याउन एकीकृत विद्युतीय चिकित्सा प्रणाली लागु गर्ने निर्णय गरेका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले त्यसलाई मद्दत पुग्ने गरी व्यक्तिका सबै स्वास्थ्य विवरण एकै ठाउँमा रहने गरी युनिक हेल्थ आइडी निर्माणको तयारी थालेका छन् ।
यसका लागि बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै उहाँले मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको नेतृत्वमा सुझाव समिति गठन गर्ने निर्णय गरेका छन् ।
समितिमा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा, कानुन तथा फैसला कार्यान्वयन महाशाखा तथा पञ्जीकरण विभागका प्रतिनिधि छन् ।
यसैगरी, सूचना प्रविधि परामर्शदाता इन्जिनियर शशांकश्री न्यौपाने, स्वास्थ्य बिमा बोर्ड, विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल उद्योग परिसङ्घका प्रतिनिधि पनि समितिमा छन् ।
समितिको सदस्य सचिवमा मन्त्रालयका सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी हुनुहुन्छ ।
समितिलाई स्वास्थ्य पहिचान नम्बर श्रृजना गर्ने विधि, प्रक्रिया तथा अल्गोरिदम अध्ययन गरी प्रस्ताव गर्न कार्यादेश दिइएको छ ।
यसैगरी, राष्ट्रिय परिचय पत्र, स्वास्थ्य बिमा प्रणाली तथा नेपाल सरकारबाट जारी भएका मान्यता प्राप्त परिचय पत्रसँग आवश्यक अनुसन्धान गर्न पनि भनिएको छ ।
मन्त्रालया प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मन्त्रालयले समितिबाट प्राप्त विस्तृत सुझावसहितको प्रतिवेदन दिए पछि थप प्रक्रिया अघि बढ्ने छ ।
विश्वका विभिन्न देशमा हरेक व्यक्तिको अलगै स्वास्थ्य परिचय नम्बरको व्यवस्था गरिएको छ । यसले व्यक्तिका स्वास्थ्यसम्बन्धी सबै विवरण एकीकृत हुने र यसले उपचार तथा राज्यलाई नागरिकको स्वास्थ्य तथ्याङ्कका आधारमा कार्यक्रम र योजना तर्जुमामा मद्दत मिल्ने विज्ञहरूको भनाइ छ । समितिका सदस्य इन्जिनियर न्यौपानेले विद्यमान विद्युतीय चिकित्सा अभिलेख कार्यान्वयन र विद्युतीय माध्यमबाट सहज स्वास्थ्य सुविधा दिन नयाँ व्यवस्था लागु हुन सके मद्दत पुग्ने बताउनुभयो ।